पश्चिमा प्रतिबन्धहरुका कारण रुसलाई नाटकीय ढङ्गबाट डिफल्ट बनाइँदै

0
Shares

रुसले विदेशी ऋण तिर्न नसक्दा पहिलो पटक डिफल्ट हुन पुगेको छ । मे २७ मा समाप्त भएको एक सबरेन बन्डको रकम रुसले ग्रेस समयावधि अर्थात थप एक महिनाभित्र भुक्तानी गर्न नसकेपछि रुस डिफल्ट भएको हो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत लगायतका पश्चिमा मुलुकहरुले लगाएका प्रतिबन्धका कारण रुस यस अवस्थामा पुगेको छ । रुसी केन्द्रीय बैंकमा रहेको डलर, युरो विदेशी सञ्चितिलाई अमेरिकाले विश्वबजारमा कारोबार गर्नबाट रोक लगाएको छ ।

जसकारण रुसले आफ्ना सबरेन बन्ड म्याचुयर हुँदा पनि भुक्तानी गर्न सकेको छैन । यसै सम्बन्धमा रुसले बारम्बार आफूहरु सबरेन बन्डको भुक्तानी गर्न सक्षम रहेको तर पश्चिमा मुलुकहरुका प्रतिबन्धका कारण बन्ड होल्डरहरुले भुक्तानी गर्न नसकेको जनाउँदै आएको छ ।

पश्चिमा मुलुकहरुले रुसलाई विभिन्न प्रतिबन्ध लगाई नाटकीय ढङ्गबाट विश्व सामु डिफल्ट हुन बाध्य बनाएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । यसै सम्बन्धमा क्वीन इम्यानुएल ल फर्मका सबरेन लिटिगेसन प्रमुख डेनिस रानिज्की भन्छन्, “रुसले युक्रेनमा आक्रमण गरे लगत्तै रुसमाथि लगाइएका प्रतिबन्धहरुका कारण रुस डिफल्ट हुने निश्चित थियो । तर कतिबेला हुने भन्ने निश्चय थिएन । अहिले त्यो समय आयो ।”

१०० मिलियन डलर बराबरका दुई सबरेन बन्डहरुको भुक्तानी युरो र डलरमा गर्न नसकेपछि रुस डिफल्ट घोषणा भएको हो । रुसी अर्थ मन्त्रालयले आफूहरुले नेशनल सेटलमेन्ट डिपोजिटोरीको प्रयोग गरी युरो र डलरमा भुक्तानी गरेको बताएको छ । रुसले भुक्तानी गरेको भनेता पनि केही ताइवानी लगानीकर्ताहरुले बन्डको भुक्तानी नपाएको जनाएपछि रुस डिफल्ट भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।