सरकारी खर्च बढ्दा बैंकिङ्ग प्रणालीमा तरलता थपिँदै, सिडी रेसियो ८९ प्रतिशत तल

0
Shares

चालु आर्थिक वर्ष सकिन दुई साताभन्दा कम समय बाँकी रहँदा सरकारी खर्च बढेका कारण बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको छ । एकातिर सरकारी भुक्तानीको रकम प्रणालीमा थप भएको छ भने अर्कोतर्फ बैंकहरु कर्जा असुलीमा लागेका छन् । यसले तरलतामा सहजता प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असार १७ गतेसम्ममा निक्षेपमा आकर्षक सुधार हुँदा बैंकिङ्ग प्रणालीमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) मा उल्लेख्य सुधार भएको छ । यस अवधिमा बैंकहरुको सिडी रेसियो घटेर ८८.८१ प्रतिशतमा झरेको छ ।

असार १६ गते ८९.०८ प्रतिशत रहेको बैंकहरुको सिडी रेसियो असार १७ गते एकैदिन ०.२७ बिन्दुले तल आएको हो । यसले बैंकहरुलाई असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन सहज हुने भएको छ ।

आर्थिक वर्षको समाप्ती नजिक पुगेका कारण अहिलेको समयमा बैंकहरुले अत्यावश्यक बाहेक अन्य कुनैपनि किसिमका कर्जा लगानी गर्दैनन् । पहिला दिएको ऋण असुलीमा नै बैंकहरुको समय खर्च हुने समयमा भएकाले पनि बैंकहरुको सिडी रेसियोमा सुधार आएको हो ।

केन्द्रीय बैंकले असार मसान्तसम्मभित्र सबै बैंकहरुलाई सीडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन यसअघि नै निर्देशन दिएको थियो । प्रणालीमा तरलता केही सहज हुँदै गएपछि बैंकहरुलाई सो अनुपात कायम गर्न पनि सहज हुने देखिन्छ ।

सरकारी खर्चको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार १९ गते मात्रै एक अर्ब २६ करोड ६० लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । असार १८ गतेसम्म एक खर्ब ५४ अर्ब २ करोड ७९ लाख रुपैयाँ खर्च भएकोमा १९ गते बढेर एक खर्ब ५५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ खर्च भएको हो । महालेखाका अनुसार असार १८ गते ५ करोड २५ लाख, १७ गते १ अर्ब २५ करोड ४७ लाख, १६ गते १ अर्ब ६३ करोड ३ लाख र असार १५ गते एकैदिन ६९ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

यस्तै बैंकिङ्ग प्रणालीमा निक्षेप थपिन थालेसँगै बैंकहरुले दैनिक कार्य सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट लिने सापटी रकम समेत घटाएका छन् । असार १६ गते नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा वापत ५४ अर्ब ८४ करोड रुपैयाँ सापटी लिएका बैंकहरुले असार १७ गते २४ अर्ब २ करोड रूपैयाँ मात्र सापटी चलाएका छन् । यस्ताे रकम असार १९ गते आइतबार थप घट्दै १७ अर्ब ६ करोड रुपैयाँ मात्र रहेकाे राष्ट्र बैंकले जनाएको छ ।

सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो । आकस्मिक तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा राष्ट्र बैंक तोकिएको ब्याजदरमा यसतो रकम सापटी दिने गर्दछ ।

चालु आर्थिक वर्षको अन्तिम (क्लोजिङ्ग) भएका कारण अहिले बैंकहरुबाट कर्जा प्रवाह भएको छैन भने बैंकहरु असुलीमा केन्द्रित हुँदा प्रवाहित कर्जाको आकार पनि साँघुरिँदै गएको छ । असार १७ गते एकैदिन मात्रै प्रणालीमा प्रवाह भएको कर्जा ३ अर्ब रुपैयाँले घटेको छ । यसले पनि बैंकहरुलाई सिडी रेसियो कायम गर्न सहज भएको हो ।

अर्कोतर्फ सरकारले पनि यस आर्थिक वर्षमा भएको विकास निर्माणको भुक्तानी बढाएको छ । यसले पनि बैंकिङ्ग प्रणालीमा आकर्षक रुपमा निक्षेप वृद्धि देखिन थालेको हो । असार १७ गते एकेदिन बैंकिङ्ग प्रणालीमा १५ अर्ब रुपैयाँले निक्षेप बढेर ५० खर्ब २० अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकको तथ्याङ्क छ । अघिल्लो दिन १६ गते निक्षेप संकलन ५० खर्ब ५ अर्ब रुपैयाँ रहेको थियो ।

यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४४ खर्ब ३२ अर्ब रहेको छ । असार १६ को तुलनामा १७ मा वाणिज्य बैंकहरुमा १४ अर्ब निक्षेप थपिएको राष्ट्र बैंकको तथ्याङ्क छ । यस अवधिमा वाणिज्य बैंकहरुले ४१ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । असार १७ गते मात्र बैंकहरुको कर्जा लगानी २ अर्बले घटेको हो ।

विकास बैंक र फाइनान्सहरुको कुल निक्षेप संकलन ५ खर्ब ८८ अर्ब रहँदा कर्जा लगानी ५ खर्ब ३० अर्ब रहेको छ । समीक्षा अवधिमा बैंकिङ्ग क्षेत्रको अन्तरबैंक सापटी दर औसतमा ७ प्रतिशत रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।