शोधनान्तर घाटा साढे १८ अर्बले घट्यो, विदेशी सञ्चिति १७ करोड डलरले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको जेठ महिनामा शोधनान्तर घाटामा १८ अर्ब ६९ करोड रुपैयाँ कमी आएको छ । बैशाख महिनामा २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको शोधनान्तर स्थीति जेठ महिनामा २ खर्ब ६९ अर्ब ८१ करोडमा झरेको हो ।

आयातमा कमी, निर्यातमा देखिएको सामान्य सुधार र रेमिट्यान्स आप्रवाह वैशाखको तुलनामा बढेपछि शोधनान्तर घाटामा कमी आएको केन्द्रीय बैंकले जनाएको छ ।

यो अवधिमा विदेशी विनिमय सञ्चिति १७ करोड अमेरिकी डलरले बढेको छ ।

चालु आवको जेठमा चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता जेठमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

चालु आवको जेठमा पुँजीगत ट्रान्सफर ३२.९ प्रतिशतले कमी आई ९ अर्ब ४९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७.१ प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रहेको थियो ।

चालु आवको जेठसम्ममा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालु आवको जेठसम्ममा २ अर्ब २६ करोडले घाटामा रहेको छ ।

विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।