असार लागेसँगै वाणिज्य बैंकको निक्षेप ९४ अर्बले बढ्यो

0
Shares

तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ ।

वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ ।

गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ ।

नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंकको कूल निक्षेप ४४ खर्ब रहेकामा असार २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब पुगेको हो । पछिल्लो समय निरन्तर रुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ ।

सङ्घको तथ्याङ्कअनुसार असार पहिलो साता वाणिज्य बैंकको निक्षेप सङ्कलन (३ गते) ४३ खर्ब ९४ अर्ब, असार दोस्रो साता (१० गते) ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) ४४ खर्ब ३२ अर्ब रुपैयाँ रहेको थियो ।

असार महिनामा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाको तुलनामा असारको २४ गतेसम्म १९ अर्बले कर्जा लगानी घटेको हो । गत जेठ मसान्तसम्म कूल ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैंकले असार चौथो सातासम्म कूल ४१ खर्ब ७४ अर्बमात्रै कर्जा लगानी गरेका हुन् ।

चालु आर्थिक वर्ष सकिँदा बैंकहरुले असुली बढाउँदा कर्जा रकम घटेको हो । यसबीच असार मसान्तभित्र राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा पुँजी निक्षेप अनुपात (सिडी) रेसियो ९० प्रतिशत पुर्याउनुपर्ने भएकाले समेत बैंकहरुको कर्जा लगानी धेरै रकम घटेको हो ।

यस्तै, एक सातामा वाणिज्य बैंकको कर्जामा दश अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म ४१ खर्ब ७४ अर्ब पुगेको हो । यस्तै, वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो ८८.५७ प्रतिशत पुगेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।