लुम्बिनी विकास बैंकको उम्दो प्रगति, खुद नाफा साढे ६७ करोड माथि

0
Shares

लुम्बिनी विकास बैंक लिमिटेडले क्रमबद्ध प्रगति गरेको वित्तीय विवरण प्रकाशन गर्दै आएको छ । गत आवको पहिलो त्रैमासदेखि नै उत्कृष्ट सुधार गर्दै आएको बैंकले चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५५.६९ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले गत आव २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकले ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा बैंकको निष्क्रिय कर्जा घटेपछि इम्पेरिमेन्ट चार्ज घट्दा खुद नाफामा उल्लेख्य सुधार आएको हो ।

अघिल्लो वर्ष सम्भावित कर्जा नोक्सानीमा २९ करोड बढी व्यवस्था गरेको बैंकले गत आवमा साढे २ करोड मात्र छुट्टाएको छ । यस अवधिमा बैंकको खराब कर्जा २.१७ बाट १.६८ प्रतिशतमा सुधारिएको छ ।

निक्षेप संकलन २८ प्रतिशतले वृद्धि गरेको बैंकले गत आवमा करिब १८ प्रतिशतले कर्जा लगानी बढाएको छ । बैंकको खुद ब्याज आम्दानी पनि ३० प्रतिशत र सञ्चालन नाफा ६० प्रतिशतभन्दा धेरैले बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४७ करोड ९२ लाख २६ हजार रुपैयाँ रुपैयाँ रहेको छ । यसबाट बैंकले सेयरधनीलाई १४.५९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । जगेडा कोष ६.१५ प्रतिशत बढेर २ अर्ब ५३ करोड ५० लाख रुपैयाँ र चुक्ता पूँजी समीक्षा अवधिमा १३ प्रतिशत बढेर ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार पुगेको छ ।

बैंकले गत आवको असार मसान्तसम्ममा ४२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड ६१ लाख तथा सञ्चालन नाफा ९७ करोड ३ लाख रुपैयाँ छ ।

नाफा बढेसँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५.६४ रुपैयाँ ६४ पैसा बढेर २०.५७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.१९ रुपैयाँ, निक्षेप संकलन लागत ९.२८ प्रतिशत, आधारदर १०.० प्रतिशत, सिडी रेसियो ८९.२१ प्रतिशत, स्पेडदर ४.२० प्रतिशत र मूल्य आम्दानी अनुपात १६.५८ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।