मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजाः अहिलेको मुद्रास्फीति १४ प्रतिशत

0
Shares

उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन्। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस) को नतिजाले यस्तो देखाएको हो। सर्वेक्षणमा सहभागी व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमास लक्षित सर्वेक्षण २०७९ को असार २० देखि असार २७ सम्म २८ सहरमा अवस्थित ३१ बजार क्षेत्रमा गरेको थियो । प्रस्तुत परिणामहरू ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएका छन्।

कुल ११४१ जनामा गरिएको सर्वेक्षणमा ९४.७ प्रतिशतले आगामी तीन महिनामा उपभोग्य सामग्री तथा सेवाको मूल्य वृद्धि हुने अनुमान गरेका छन् । त्यसै गरी ९४.४ प्रतिशतले आउँदो वर्षमा सेवा तथा सामग्रीको मूल्य बढ्ने अनुमान गरेका छन् ।

आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश गत चैतको तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ ।

गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैतको तुलनामा बढेको छ ।

तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैतको तुलनामा घटेको छ ।

तीन महिना पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैतको तुलनामा थोरै घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ।

उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन्। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।