सरकारको १५ दिनको आम्दानी सवा २९ अर्ब, खर्च झण्डै १२ अर्ब

0
Shares

सरकारले चालु आर्थिक वर्षको पहिलो १५ दिनमा सवा २९ अर्ब रकम आम्दानी गरेर झण्डै १२ अर्ब रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष सुरु भएपछि १५ दिनमा सरकारले २९ अर्ब २७ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ भने यस अवधिमा ११ अर्ब ९० करोड ८८ लाख रुपैयाँ खर्च गरको छ ।

साउनको पहिलो १५ दिनमा सरकारले २० अर्ब ४ करोड ४८ लाख रुपैयाँ राजश्व आम्दानी गरेको छ भने अन्य शिर्षकमा ९ अर्ब २२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवमा सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ । पहिलो १५ दिनमा सरकारले लक्ष्यको २.०१ प्रतिशत आम्दानी गरेको हो।

यस्तै सरकारले चालु आवको पहिलो १५ दिन अर्थात साउन १५ गतेसम्ममा ११ अर्ब ९० करोड ८८ लाख रुपैयाँ बजेट खर्च गरको छ ।

सरकारले चालु तर्फ १ अर्ब ८० करोड १७ लाख, पूँजीगततर्फ १० करोड ७१ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ १० अर्ब खर्च गरेको छ । सरकारले ९१ दिनको ट्रेजरी विल्सको १० अर्ब सावा फिर्ता गरेकाले वित्तीय व्यवस्थापनतर्फको खर्च उच्च भएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ।

यस्तै सरकारले खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुटाउने जनाएको छ । खर्च व्योहोर्ने स्रोत ४ खर्ब ९८ अर्ब २६ करोड न्यून रहेकाले वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड तथा २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बजेटमा उल्लेख छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।