एसबिआई बैंकको नाफा ७०% ले बढ्यो, ईपिएसमा साढे ६ रुपैयाँ सुधार

0
Shares

नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्ष ०७८/०७९ मा१ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत बढी हो ।

बैंकले अघिल्लो आवमा ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

बैंकले ७० प्रतिशतले नाफा बढाउँदा प्रतिसेयर आम्दानीमा ६ रुपैयाँ ५२ पैसाले बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २१ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७५ प्रतिशत बढेको छ।

यस अवधिमा बैंकले ४ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष २ अर्ब ८६ करोड खुद ब्याज आम्दानी गरेको थियो।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो बर्ष बैंकको यस्तो नाफा ३३ करोड ९२ लाख रुपैयाँ मात्र थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३.५० प्रतिशत बढेको छ भने जगेडा कोष २३.३५ प्रतिशत बढेको छ। बैंकको चुक्तापूँजी ९ अर्ब ८२ करोड छ । जगेडाकोषमा ७ अर्ब २८ करोड संचिती छ ।

बैंकको निक्षेप १२.६८ प्रतिशत र कर्जा ८.५८ प्रतिशत बढेको छ। बैंकले यस अवधिमा एक खर्ब १९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५ अर्ब कर्जा प्रवाह गरेको छ।

बैंकको कर्जा जोखिम व्यवस्थापन बापतको रकम ३७ करोड ९६ लाख बाट ६८ करोड २४ लाख रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा ०.१५ प्रतिशत मात्र छ ।

बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।