डलर खाता र ब्याजदरको सन्दर्भमा अर्को बैंठकपछि निर्णय: बैंकर्स संघ

0
Shares

नेपाल बैंकर्स संघले ब्याजदर बढाउने सन्दर्भमा तत्काल कुनै निर्णय लिइसकेको छैन । आगामी महिनाको ब्याजदर बढाउने निर्णय गर्नका लागि अझै समय भएको भन्दै शुक्रबारको बैंठकले निर्णय नगरेको हो।

शुक्रबार भएको संघको फुल हाउस बैंठकमा ब्याजदरको विषयमा कुरा उठेको भएपनि आगामी बैठकमा समेत छलफल गरेर निर्णय गरिने सहमती भएको सहभागी एक बैंकरले बताए । “ब्याजदर बढाएपनि लागु हुने भदौ महिना देखि भएकाले अहिले नै निर्णय गर्न हतार गर्नु पर्ने नभएको साथीहरुको भनाई छ,”ती बैंकरले भने,“केन्द्रीय बैंकको नीति अनुसारको ब्याजदर समायोजन साउन मसान्तसम्म गर्ने भनिएको छ ।”

संघको बैंठकमा मौद्रिक नीति तथा त्यसको कार्यान्वयनका लागि आएको निर्देशनहरुको सन्दर्भमा पनि छलफल भएको छ । त्यस मध्ये ब्याजदरको सन्दर्भमा पनि केही कुराहरु भएपनि बढाउने नबढाउने निर्णय नभएको उनले जानकारी दिए । शुक्रबारको बैंठकमा विशेष गरी नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनको बुँदागत छलफल गरिएको समेत उनले जानकारी दिए । डलर खाता र ब्याजदरको सन्दर्भमा अझै एकपटक छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय भएको हो।

पछिल्लो समयमा बैंकहरुले डलरमा पनि निक्षेप खाता खोल्न सक्ने व्यवस्था गरेको छ । त्यस्तो खातामा दिने ब्याजदरको सन्दर्भमा पनि निर्णय गर्नुपर्ने भएकाले साउन मसान्तसम्म पर्खेको ती बैंकरको भनाई छ । “साउन मसान्तसम्ममा केन्द्रीय बैंकले डलर खाताको सन्दर्भमा पनि नयाँ निर्देशन दिन सक्ने भएकाले त्यसलाई पनि पर्खेको हो,” ती बैंकरले भने,“अहिले बैंकहरुले डलर खातामा पनि प्रकाशित गरेको आधारमा नै ब्याज दिँदै आएका छन्, प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धी केन्द्रीय बैंकले निर्देशन पनि ल्याउने तयारी गरेको हुनाले पर्खेको हो ।”

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नीतिगत दर नै १.५ प्रतिशतले बढाइसकेको छ । सोही आधारमा बैंकदरलाई ८.५ प्रतिशत पु¥याएको छ । बैंकहरुले मौद्रिक नीति आएपछि स्थायी तरलता सुविधा लिदाँ पनि ८.५ प्रतिशतको बैंकदर तिर्दै आएका छन् । तर, बैंकहरुले ब्याजदर बढाएनन भन्ने होइन

बैंकहरुले साउन महिनाका लागि ब्याजदर प्रकाशित गरिसकेका छन् । आगामी १० दिनका लागि मात्र ब्याजदर चलाउने भन्दा पनि भदौ देखि लागु हुने गरी साउनको अन्तिममा निर्णय गर्ने भन्नेमा बैंकरहरु सहमत भएका हुन ।

बैंकरहरुले भद्र सहमती गरेर साधारण मुद्दती निक्षेपको ब्याज दर ११.०३ प्रतिशत कायम गरेका छन् । बैंकहरुले कायम गरेको यो ब्याजदर विगत पाँच महिना देखि लागू भइरहेको छ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत भन्दा संस्थागत निक्षेपकर्तालाई २ प्रतिशत थोरै ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । बैंकहरुले ब्याजदरको सन्दर्भमा मासिक परिवर्तन गर्न सक्ने भएपनि आधारदर परिवर्तन गर्नका लागि त्रैमास पर्खनु पर्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।