भारतीय सीमाका भन्सारमा खटिन्छन् २ सय झोलेपोके, दैनिक १० पटकसम्म ओसारछन् सामान

0
Shares

व्यापारीले अबैध रुपमा सामान ल्याउन दैनिक २ सय सम्म झोलेपोके भरिया प्रयोग गर्ने गरेको भेटिएको छ । व्यपारीले दिनमा एक भरियालाई १० पटकसम्म प्रयोग गर्ने गरेको फेला परेको हो ।

व्यापारीले कमिसनको लोभ देखाएर झोलेपोके भरियालाई प्रयोग गरेर भारतीय सीमामा रहेका प्रमूख भन्सार नाकाबाट चोरी पैठारी गर्ने अध्ययनले देखाएको हो ।

राजस्व परामर्श समितिले सीमा नाकामा हुने चोरी पैठारीको अवस्था अध्ययन गर्ने क्रममा व्यापारीहरुले गरिव तथा मजदुरलाई कमिसन दिएर झोलेपोके भरियाको रुपमा प्रयोग गरेर भन्सार छली गरेको पाइएको हो ।

भारतका व्यापारीहरुले आँफुले बेचेको सामानहरु गैर भन्सारको बाटो प्रयोग गरेर ७ दिनभित्र नेपालको क्रेताले भनेको ठेगानामा पठाइदिने गरेको समेत अध्ययनमा भेटिएको छ । प्रमुख भन्सार विन्दुमा करिब २०० जना झोलेपोके भरियाहरुले दिनभरी स्थानीय व्यापारीहरुको मालसामान घरायसी वस्तुको नाममा भन्सार विन्दुबाटै पैदल मार्ग भएर ओसार्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन अनुसार दिनभरी स्थानीय व्यापारीहरुको मालसामान घरायसी वस्तुको नाममा भन्सार विन्दुबाटै पैदल मार्ग भएर ओसार्ने गरेका छन् । समितिले अध्ययनको क्रममा भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्ट, जिल्ला स्तरीय राजस्व चुहावट नियन्त्रण समितिका पदाधिकारीहरु, छोटी भन्सारमा रहेका कर्मचारीसंग छलफल तथा बोर्डर आउट पोष्टका प्रहरीहरुसंग पनि अनौपचारिक छलफल गरेको थियो ।

जिल्ला स्तरीय राजस्व चुहावट नियन्त्रण समिति औपचारिकतामा सिमित भएको र चोरी पैठारी नियन्त्रणको कार्य प्रभावकारी हुन नसकेको प्राय सबैले स्वीकार गरेको अध्ययनमा उल्लेख छ । “अवैध कारोबारीहरुको पहिचान राष्ट्रिय अनुसन्धान तथा राजस्व अनुसन्धान कार्यालयहरुबाट हुने तर माथिको संरक्षणका कारण कारवाही प्रभावकारी भएको छैन,” प्रतिवेदनमा भनिएको छ,“कतिपय स्थानमा स्थानीय जनप्रतिनिधिहरु नै अवैध कारोबारीहरुको संरक्षणमा लागि परेको भेटिएको छ ।”

पैदलयात्रीहरुले भन्सारमा भिडभाड गर्ने र मौका पर्नासाथ भन्सार नतिरी मालसामान सहित भाग्ने गरेको समेत अध्ययनका क्रममा भेटिएको छ । कतिपय ठाउँमा सशस्त्र प्रहरीहरु नै अवैध सामानको पैठारी नियन्त्रणमा उदासिन रहने गरेको भन्ने स्थानीयबासीहरुको आरोप र गुनासो समेत रहेको अध्ययन प्रतिवेदनमा छ ।
सीमित जनशक्ति र स्रोत साधनका कारण आन्तरिक राजस्व कार्यालयहरुले बजार अनुगमन तथा गोदाममा छापा मार्ने कार्यमा यथेष्ट ध्यान दिन नसकेको अध्ययनले औल्याएको छ । नियामक निकायहरु समन्वयात्मक र संयुक्तरुपमा नियमित बजार अनुगमनमा जान सके यसबाट राम्रो प्रभाव पर्नसक्ने अध्ययनले देखाएको छ ।

अवैध रुपमा जम्मा गरेका सामानहरु कहाँ जान्छ ? कहाँबाट बिक्री वितरण हुन्छ ? भनेर अनुसन्धान गर्न जरुरी रहेको अध्ययनले देखाएको छ । सशस्त्र र नेपाल प्रहरीमा इमान्दारिता, उत्तरदायित्व वहन र सम्बन्धित निकायहरुवीच समन्वय वृद्धि भएमा चोरी पैठारी नियन्त्रण हुनसक्ने सर्वसाधारणकोे भनाइ रहेको छ । बोर्डर आउट पोष्टमा पूर्वाधार, जनशक्ति तथा प्रविधिको कमी भएकोले पनि चोरी पैठारी नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको अध्ययनको ठहर छ ।
गस्ती परिचालनका सन्दर्भमा राजस्व चुहावट नियन्त्रणका सबै निकायहरुवीच प्रभावकारी समन्वय हुन नसकेको र सशस्त्र प्रहरीलाई भन्सार प्रहरीको रुपमा परिचालन गर्न नसकिएको अध्ययनले देखाएको छ ।

प्रज्ञापन पत्रमा उल्लेख भएको सामान र पैठारी गरिएको सामान फरक फरक भई भन्सार विन्दुबाट नै राजस्व चुहावट हुने खतरा पनि रहेको अध्ययनले औल्याएको छ । प्रभावकारी नियन्त्रणका उपाय अवलम्वन नगर्ने हो भने साइकल र मोटर साइकलबाट सामान ल्याउने प्रवृत्ति भोलिका दिनमा झन विकराल बन्दै जाने सम्भावना अध्ययनले देखाएको छ । भारतीय सीमावर्ती क्षेत्रमा पशुजाँच क्वारेन्टाइन नहुँदा राँगा, भैंसी, खसीबोका जस्ता चौपाया कानुनी रुपमा आयात हुन नसकेको समेत अध्ययनले देखाएको छ ।

पछिल्लो समयमा अनिवार्य, शतप्रतिशत नगद मार्जिन र केही सामानहरुमा लगाइएको प्रतिबन्ध जस्ता नीतिगत व्यवस्थापछि अबैध व्यापार झनै फस्टाएको अध्ययनको निष्कर्ष रहेको छ । सरकारले आयातमा प्रतिबन्ध गरेका बस्तुहरु पनि बजारमा सहज उपलब्ध हुनुले पनि आबैद्य आयात बढेको स्पष्ट हुन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।