बढेको सीआरआर कायम गर्न साउन यताकै उच्च स्थायी तरलता सुविधा

0
Shares

बैंक तथा वित्तीय संस्थाले आइतबार चालु आर्थिक वर्ष सुरु भए यताकै उच्च स्थायी तरलता सुविधा( एसएलएफ) प्रयोग गरेका छन । बैंक वित्तीय संस्थाले एक प्रतिशतको विन्दुले बढेको अनिवार्य नगद मौज्दात (सीआरआर) कार्यान्वयका लागि चालु आवकै धेरै एसएलएफ प्रयोग गरेका हुन ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जा नियन्त्रण गर्न सीआरआर एक प्रतिशतको विन्दुले बढाई ४ प्रतिशत कायम गरेको थियो । सोही व्यवस्थाको कार्यान्वयन भदौ १२ गते अर्थात आजदेखि गर्नुपर्ने भएकाले बैंकहरुले ६४ अर्ब ४९ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा उपभोग गरेका हुन ।

पछिल्लो समयमा बैंक वित्तीय संस्थाहरुबाट निरन्तर निक्षेप बाहिरएिको छ । साउन महिनामा मात्र बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ बराबरको निक्षेप झिकिएको छ भने कर्जा विस्तार गत असारकै हाराहारमिा रहेको छ ।

बैंक वित्तीय संस्थाका देखिएको कर्जा लगानी योग्य रकम तथा तरलता अभावको समस्या समाधान उन्मूख नहुँदा थप गरिएको अनिवार्य नगद मौज्दातको व्यवस्था कार्यान्वयनका लागि एसएलएफको प्रयोग गर्न परेको एक बैंकरले बताए । “नयाँ निक्षेप आउने अवस्था छैन,” ती बैंकरले भने,“आइडल राख्नु पर्ने पैसाको सीमा बढेको हुनाले एसएलएफ पनि धेरै लिन परेको हो ।”

आइतबार बैंक वित्तीय संस्थाले ३६ कारोबारबाट ६४ अर्ब ४९ करोड रुपैयाँ बरावरको एसएलएफ लिएका छन । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई एसएलएफ सुविधा दिएबापत ८.५ प्रतिशत ब्याजदर लिन्छ । बैंकहरुले उक्त ब्याजदरमा ५ दिनका लागि मात्र एसएलएफको पैसा चलाउन पाउँछन ।

आइतबार बैंक वित्तीय संस्थाको निक्षेपमा समेत कमी आएको छ । बढेको सीआरआर कायम गर्नका लागि बैंकिङ क्षेत्रले करिब ५० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा नगद राख्नुपर्ने हुन्छ । उक्त नियामकीय व्यवस्था कार्यान्वयनका लागि बैंक वित्तीय संस्थाले निक्षेपको रकम केन्द्रीय बैंकमा रहेको खातामा जम्मा गर्नुपर्ने हुन्छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।