बीमा समितिको नीतिलाई चुनौति दिँदै एलआईसीको हकप्रद बिक्री प्रस्ताव

0
Shares

जीवन बीमा कम्पनीहरुलाई बीमा समितिले दिएको निर्देशन विपरित बहुमत विदेशी स्वामित्व रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सञ्चालक समितिको बैठकले हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेर बीमा समितिले तोकेको पुँजी कायम गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९९ करोड ९९ लाख ९९ हजार ७३८ रुपैयाँ पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन निर्देशन जारी गरेको छ । सो निर्देशन अनुसार कम्पनीले भारी मात्रामा हकप्रद सेयर निष्काशन गरी पुँजी कायम गर्ने बाटाेमा कम्पनी पुगेकाे हो ।

एलआइसी नेपालमा सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत सहित नेपालको विशाल ग्रुपकाे २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ । एलआइसी इण्डियाको स‌ञ्चालक समितिले गत असारमै हकप्रद सेयरवापत एलआइसी नेपालमा थप १ अर्ब २९ करोड रूपैयाँ (८० करोड ६७ लाख भारू) लगानी गर्ने निर्णय गरेको थियो ।

समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले मर्जर तथा बोनसबाटै बीमा कम्पनीहरुलाई पुँजी कायम गराउने बताउँदै आएका छन् । यसरी मर्जर तथा बोनस वितरणपछि अपुग चुक्ता पुँजीको २५ प्रतिशतमात्र हकप्रद बिक्री गर्न दिने उनको भनाई धेरै वटा सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिँदै आएका छन् ।

एलआईसी नेपालको सोमबारको निर्णयले पुँजी कायम गर्न बाँकी रकम समितिले तोकभन्दा तीन गुणाभन्दा बढी अनुपातमा हकप्रद बिक्री गरेर चुक्ता पूँजी पुर्‍याउने रहेको छ । कम्पनीको यो निर्णयले अध्यक्ष सिलवालको मर्जर तथा बोनसबाटै बीमा कम्पनीलाई पुँजी कायम गराउने अभिव्यक्तिलाई चुनौति दिएको छ ।

एलर्आसीको बोर्ड बैठकले निर्णय गरेपनि उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत नभई कार्यान्वयनमा जान सक्दैन । हकप्रदबाट मात्रै पुँजी कायम गर्न नदिने बताएका अध्यक्ष सिलवालले कम्पनीको यो प्रस्ताव के गर्छन् भन्ने चासो अहिले सर्वत्र बढेको छ । आफ्नो भनाई र गराइमा अध्यक्ष सिलवाल कति अडिग रहन्छन् वा विदेशी स्वामित्व रहेको भन्दै कम्पनीको प्रस्ताव स्वीकार गर्छन् त्यसले अन्य बीमा कम्पनीहरुको पनि पुँजी वृद्धि कसरी हुन्छ भन्ने निर्धारण गर्नेछ ।

एलआईसीले हकप्रदबाट पुँजी कायम गर्ने बाटो पाएको खण्डमा अन्य जीवन बीमा कम्पनीहरुको पनि सोही बाटोमा जाने हुँदा ति कम्पनीलाई पनि हकप्रद बिक्रीको अनुमति दिन समितिका अध्यक्ष सिलवाल बाध्य हुनेछन् ।

हालसम्म ९ जीवन बीमा कम्पनीले मर्जरमा जान सम्झाैता गरेका छन् । सबै कम्पनीलाई बीमा समितिबाट मर्जरमा जान प्रारम्भिक स्वीकृति दिएको छ । कम्पनीकाे  उक्त हकप्रद प्रस्ताव बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र निष्काशनको प्रकृया अगाडि बढ्नेछ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र सर्वसाधारणमा जारी गर्न बाटो खुला हुनेछ । हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

एलआईसी नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन ४.४० प्रतिशतले बढाएर १८ अर्ब १३ करोड रुपैयाँ संकलन गरेको छ ।

नेपालको सञ्चालित जीवन बीमा कम्पनीमध्ये दोस्रो ठूलो पूँजीकृत जीवन बीमा कम्पनी हो एलआईसी । ग्लोबल इन्स्योरेन्स बेहेमथ, र लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाले नेपालको विशाल समूहसँग हात मिलाउँदा सन् २००० मा नेपालमा यस कम्पनीको स्थापना भएको थियो । कम्पनीले बीमा समितिबाट सन् २००१ अगस्ट ७ मा जीवन बीमा लाइसेन्स प्राप्त गरी सेप्टेम्बर १ देखि सञ्चालनमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।