चीनमा बैंकिङ्ग कसुर मुद्दामा २३४ जना पक्राउ

0
Shares

चीनमा बैंकिङ कसुरको मुद्दामा २ सय ३४ जना पक्राउ परेका छन् ।

चीनको हेनान प्रान्तका चार बैंकहरुले अप्रिल महिनादेखि नगद निकाल्न प्रतिबन्ध लगाएपछि जनता आन्दोलित भएका थिए । बैंकका नियामकबाट पुँजी व्यवस्थापनमा भएको लापरवाहीका कारण चार बैंकहरुले हजारौँ निक्षेपकर्ताहरुको पुँजी फ्रिज गरेका थिए । यसै घटनामा अनुसन्धान गर्दै जाँदा उक्त मानिसहरु पक्राउ परेका हुन् ।

घोटालामा संलग्न व्यक्तिहरुको अनुसन्धान गर्दै जाँदा यस बैंकिङ घोटालाको पछाडि एउटा ग्याङ रहेको पुष्टि भएको छ । चीनको सबैभन्दा ठूलो बैंकिङ घोटालामा संलग्न ग्याङका नाइके लु यिवेई रहेका छन् ।

ग्याङका मानिसहरु हेनान प्रान्तको दुर्गम ठाउँहरुमा गएर मानिसहरुलाई १८ प्रतिशत ब्याज दिने आश्वासन दिलाएर प्रलोभनमा पारी ठगी गरेका छन् । बैंकमा निक्षेपित रकम ग्याङबाट नै परिचालित भएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।

चीनका दुर्गम ठाउँमा रहेका बैंकहरुको सुरक्षा राम्रो नहुँदा र नियामक बलियो नहुँदा यस किसिमका समस्या देखा परेका छन् । अनुसन्धानबाट प्राप्त प्रतिवेदनका अनुसार दुर्गम ठाउँका बैंकहरु यस्तै ग्याङबाट स्वचालित रहेका छन् । बैंकका कर्मचारीहरुले सन् २०११बाट बैंकलाई ग्याङले परिचालन गरेको बताएका छन् ।

हेनान बैंकिङ तथा बीमा नियामकले यस घोटालाबाट निक्षेप गुमाएका मानिसहरुलाई क्षतिपूर्ति दिने तयारी गरेको छ । ४–५ लाख युवान सम्म निक्षेप गरेका निक्षेपकर्ताहरुलाई यसै हप्टाबाट क्षतिपूर्ति दिने काम सुरु भएको छ ।

यस बैंकिङ घोटालाबाट दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको वित्तीय सुरक्षामा प्रश्न उब्जिएको छ भने मानिसहरुको विश्वासमा पनि कमी आएको चिनियाँ समाचार माध्यमहरुले जनाएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।