बिशाल र एभरेष्ट ग्रुपको संयुक्त लगानीको यति ब्रुअरीको रेटिङ घट्यो

0
Shares

केयर रेटिङ एजेन्सीले यति ब्रुअरीको ग्रेड घटाएको छ । एजेन्सीले माग गरेको विवरण कम्पनीले नदिएपछि यसभन्दा अघि गरेको रेटिङ ग्रेड घटाएको हो ।

एजेन्सीले रेटिङका लागि माग गरेको आवश्यक तथ्यांक कम्पनीले उपलब्ध नगराएको जनाएको छ । एजेन्सीले यसभन्दा अघि गरिएको रेटिङलाई समिक्षा गर्न खोज्दा आवश्यक विवरण उपलब्ध नगराएपछि विगतमा दिएको ग्रेडलाई समेत घटाएको एजेन्सीले जनाएको छ ।

यस अघि केयरले कम्पनीलाई दीर्घकालीन कर्जाको लागि ट्रिपल-बी र अल्पकालीन कर्जाको लागि ए–४ रेटिङ ग्रेड पुष्टि गरेको थियो । घटेको ग्रेडले जोखिम बढेको जनाउँछ ।

अहिले उक्त रेटिङ घटेर दीर्घकालीन कर्जाको लागि ट्रिपल बी माइन्स र अल्पकालीन कर्जाको लागि ए–३ प्लस कायम गरेको हो ।

कम्पनीले यसभन्दा अघि २ अर्ब ६६ करोड रुपैयाँ बरावरको अल्पकालिन र दिर्घकालिन बैंक कर्जाका लागि रेटिङ गराएको थियो । सोही बैंक ऋणको रेटिङ ग्रेड समिक्षा गर्न विवरण माग्दा कम्पनीले उपलब्ध नगराएपछि ग्रेड घटाएको हो ।

रेटिङ पुनःपुष्टि गर्नको लागि कागजात आवश्यक परेको तर बारम्बार फोन तथा इमेल गरी सम्पर्क गर्न खोज्दा पनि कम्पनीले कुनै प्रतिक्रिया नजनाएपछि नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार गरेको एजेन्सीले जनाएको छ । यसैगरी केयर रेटिङ नेपालले रेटिङ वीथड्रल गर्ने सूचना समेत जारी गरेको छ ।

आफूहरुलाई उपलब्ध गराएको कागजातको आधारमा रेटिङ गरेको तर उक्त रेटिङ निष्पक्ष नभएको समेत एजेन्सीले जनाएको छ ।

एक पटकको रेटिङ समय अवधि ६ महिनासम्मको लागि मात्रै लागू हुन्छ । सो अवधि समाप्त भएपछि त्यसलाइ पुन: पुष्टि गर्नुपर्ने हुन्छ । उक्त रेटिङ परिमार्जन गर्ने समयसम्ममा यती ब्रुअरीको तर्फबाट सहकार्य नभएमा रेटिङ वीथड्रल गर्ने रेटिङ एजेन्सीले जनाएको छ ।

यती ब्रुअरी सन् २०१३ देखि सञ्चालनमा आएको कम्पनी हो । बिशाल र एभरेष्ट ग्रुपले संयुक्त रुपमा प्रवर्द्धन गरेको यस कम्पनीको प्लान्ट चितवनमा छ । उक्त प्लान्टको उत्पादन क्षमता १ वर्षमा १ करोड ३० लाख लिटर वियर रहेको छ । यती ब्रुअरीले मुख्यतयाः बियर उत्पादनलाई प्राथमिकतामा राखेको छ । नेपाली बियर अर्ना पनि यती ब्रुअरीकै उत्पादन हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।