प्रधानन्यायाधीश जबरासँगको दोस्रो दिनको बयान सकियो, अर्को बयान १९ गते

0
Shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।

महाअभियोग सिफारिस समितिले बयानका लागि सिंहदरवारमा ११ बजे बोलाएको बैठकमा उनले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको कुनै औचित्य नभएको दाबी गरेका छन् ।

जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरेका थिए । उनले बिहीबर जवाफ दिने क्रममा महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बस्न मिल्छ कि मिल्दैन भनेर समेत प्रतिप्रश्न गरेका छन् ।

समितिका सदस्यहरुले आज उनलाई २ वटा प्रश्न सोधेका थिए । बुधबारबाट सुरु गरिएको उनको बयानमा बिहीबार सहित कुल ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ भने अझै ३७ वटा प्रश्न बाँकी छ । समितिले अब भदौ १९ गते बिहान ११ बजे बयानका लागि बोलाएको छ ।

सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध गत १ फागुनमा महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो । बयानका क्रममा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।