आयल निगमले आइओसीलाई २१ अर्ब तिर्न बाँकी, मासिक घाटा ६१ करोड

आयल निगमले आइओसीलाई २१ अर्ब तिर्न बाँकी, मासिक घाटा ६१ करोड

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ ।

लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ ।

सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत तीन अर्ब ऋण लिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ ।

मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । एक महिनामा निगमको घाटा ६१ करोड हुने निगमको प्रक्षेपण छ।

डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको भने यथावत

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार भाउ बढाएर पठाएपछि निगमले पनि बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको हो । नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ ।

त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भदौ २०७९, शुक्रबार ०८ : १४ बजे