राष्ट्र बैंक मौद्रिक व्यवस्थापनमा सक्रिय भएसँगै ब्याजदर स्थीरता उन्मुख

0
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनमा सक्रियता देखाएसँगै ब्याजदर स्थीरता उन्मुख देखिएको छ । चालु आर्थिक वर्षमा मौद्रिक नीति मार्फत बैंकदर बढाएपछि थप बढ्न नदिन राष्ट्र बैंक सक्रिय हुँदा ब्याजदरमा अस्वभाविक उतारचढाव रोकिएको हो ।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदर समेत बढ्न नदिन सरकारी ऋणपत्र समेत आफैले खरिद गरेर ब्याजदर नियन्त्रण गरेको छ ।

सरकारी ऋणपत्रको सिँधै खरिदमा पनि ८.५ प्रतिशतको बैंकदर भन्दा माथि हुने गरी केन्द्रीय बैंकले माग गरेको जति पनि खरिद गरेको छैन । त्यसैगरी वित्तीय प्रणालीमा तरलता पठाउँदा पनि केन्द्रीय बैंक सोही विषयलाई ध्यानमा राखेको देखिन्छ ।

बिहीबार केन्द्रीय बैंकले जारी गरेको २० अर्ब रुपैयाँ बरावरको रिपो जारी गरेको थियो । उक्त रिपोका लागि १२ संस्थाहरुले ४१ वोल मार्फत ३० अर्ब रुपैयाँको आवेदन माग गरेका छन् । बोलकबोलवालले उक्त रिपोका लागि अधिकतम ८.५५ प्रतिशत र न्यूनतम ८.२४४४ प्रतिशत अफर गरेका छन् ।

बिहीबारको रिपोको औसत ब्याजदर ८.४५८० प्रतिशत कायम भएको छ । यसभन्दा अघि केन्द्रीय बैंकले साउनको १२ गते जारी गरेको रिपोको औसत ब्याजदर ८.३८१६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव भएको समयमा रिपो मार्फत तरलता प्रबाह गर्छ भने अधिक तरलता हुदाँ रिभर्स रिपो मार्फत बैंकिङ प्रणालीको नगद लैजान्छ । त्यसैगरी राष्ट्र बैंक तरलता व्यवस्थापनका लागि ब्याजदर करिडोरको सीमामा रहेर अन्य विभिन्न वित्तीय उपकरणहरुको प्रयोग गर्छ ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएको छ । सोही जटिलतालाई सहज बनाउनका केन्द्रीय बैंकले रिपो जारी गरेको हो । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले स्थायी तरलता सुविधा मार्फत तरलता व्यवस्थापन तथा सरकारी पत्रमा लगानी गर्दै आएका छन् । बिहीबार मात्र बैंक वित्तीय संस्थाले करिब ५३ अर्ब रुपैयाँ बरावरको ८.५ प्रतिशत व्याज तिर्ने गरी स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

तर, भदौ महिनाको अन्तिम सुरु भएपनि वित्तीय प्रणालीमा केही निक्षेप थपिन थालेको छ । चाडबाड नजिकिएसंगै रेमिट्यान्समा आएको सुधारले बैंकिङ प्रणालीको निक्षेपमा सुधार आएको हो । गत मंगलबार मात्र ५ अर्ब निक्षेप थपिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिएसंगै कर्जा निक्षेप अनुपात पनि घट्न थालेको छ । मंगलबार बैंक वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ८८.२१ प्रतिशत रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।