निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान

0
Shares

सरकारले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन पाउने गरी आइतबार १ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो । म्यादीको कार्यअवधि ४० दिनको हुने छ।

आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । त्यही क्रममा प्रहरी प्रधान कार्यालयले आइतबार म्यादी प्रहरी भर्ना आह्वानको सूचना सार्वजनिक गरेको हो ।

आवेदन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसहित देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन पाइने छ ।

आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएकारनरहेकाले आवेदन दिन सक्ने न्यूनतम योग्यता निर्धारण गरिएको छ ।

यसैगरी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन तथा २०७४ का स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्यादीमा भर्ना भई सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का उपदान र निवृत्तिभरणमा निस्केका पूर्व सुरक्षाकर्मीहरू, पूर्ववन रक्षकहरू, विदेशी सुरक्षा निकायमा काम गरेको अनुभव भएका तथा २०७९ भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिलाई म्यादी छनौटको प्राथमिकतामा राखिएको छ ।

म्यादि प्रहरीका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्म गरी ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक दिइनेछ । त्यसैगरी, खाद्यान्नवापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुको हकमा जिल्लाको न्यूनतम राशन दररेटअनुसारको रकम पाउनेछन्।

त्यस्तै, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादीलाई ज्याकेट खरिद गर्न थप १ हजार पाउनेछन् । साथै, निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरुलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप म्यादी प्रहरीलाई १ हजार रुपैयाँ र ३ सय रुपैयाँका दरले ४ दिनको खाजा खर्च उपलब्ध हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।