नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी सार्फीको उपाध्यक्ष चयन

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दक्षिण एशिया क्षेत्र वित्तीय समावेशी पहल (सार्फी) को उपाध्यक्षमा चयन भएका छन् ।

माल्दीभ्सको केन्द्रीय बैंक माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष र गभर्नर महाप्रसाद अधिकारी सार्फीको उपाध्यक्षमा चयन भएका हुन ।

अलाइन्स फर फाइनानसियल इन्क्लूजन र सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन् २०२२ सेप्टेम्बर ५ देखि ८ मा जोर्डनको डेड सीमा आयोजित ‘ग्लोबल पोलिसी फोरम, २०२२’ मा सहभागी भएका थिए ।

सो कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल फाइनान्सका आयाम, यसले लघु, साना तथा मझौला उद्योगलाई पुग्ने सहयोग, नियमानकारी संस्थाका चुनौतीलगायतका विषयमा प्रकाश पारेका थिए ।

सार्फीको औपचारिक शुभारम्भको अघिल्लो दिन सेप्टेम्बर ६ मा आयोजित समारोहमा माल्दीभ्स मनिटरी अथोरिटी र नेपाल राष्ट्र बैंकका गभर्नर, स्टेट बैंक अफ पाकिस्तान र बङ्गलादेश बैंकका डेपुटी गभर्नर तथा एलायन्स फर फाइनान्सियल इन्क्लुजनका कार्यकारी निर्देशक डा। अल्फ्रेड ह्यानिङले ‘सार्फी चार्टर’मा हस्ताक्षर गरेका थिए ।

उक्त समारोहमा बङ्गलादेशको माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी, रोयल मनिटरी अथोरिटी अफ भुटान र सेन्ट्रल बैंक अफ श्रीलङ्काका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रवद्र्धनका निम्ति नीतिगत व्यवस्थाको तर्जुमा र सोको कार्यान्वयनलाई सबल बनाउने सामूहिक अभ्यासस्वरूप सार्फीको शुभारम्भ भएको हो ।

सार्फीअन्तर्गत क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुकरण गर्दै सबै वर्गमा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका रणनीतिक स्तम्भहरू तय भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।