फेडको ब्याजदर बढाउने निर्णयसँगै विश्व सेयर बजारमा ‘सेलअफ’ को श्रृङ्खला

फेडको ब्याजदर बढाउने निर्णयसँगै विश्व सेयर बजारमा ‘सेलअफ’ को श्रृङ्खला

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले तेस्रो पटक औसत ब्याजदर बढाउने निर्णय गरेसँगै त्यसको प्रभाव विश्व सेयर बजारमा देखा परेको छ ।

फेडले ०.७५ प्रतिशतले तेस्रो पटक औसत ब्याजदर वृद्धि गर्ने निर्णय गरेसँगै लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा यतिबेला विश्व सेयर बजारमा ‘सेलअफ’ को श्रृङ्खला चलिरहेको छ ।

जापान बाहिरको एसिया–प्यासिफिक क्षेत्रको बृहत सूचांक एमएससीआई बुधबार २.१ प्रतिशतले ओरालो लागेको छ । यसैगरी हङकङको ह्याङस्याङ सूचांक २.४ प्रतिशतले घटेको छ । चिनियाँ ब्लुचिप्स सूचांक पनि १ प्रतिशतले घटेको छ भने जापानी सेयर सूचांक निकेई २.३ प्रतिशतले घटेको छ ।

यसैगरी ओभरनाइट सेलअफपछि डाउ जोन्स इन्डस्ट्रीयल एभरेज ३.९४ प्रतिशतले घटेको छ भने एसएन्डपी–५०० सूचांक ४.२ प्रतिशतले घटेको छ । यसैगरी नास्डाक कम्पोजिट ५.१६ प्रतिशतले ओरालो लागेको छ । यसैगरी अष्ट्रेलियाको सेयर सूचांक पनि २.७ प्रतिशतले घटेको छ ।

बुधबार प्रकाशित गरिएको अगस्ट महिनाको उपभोक्ता मूल्य सूचांक ०.१ प्रतिशतले वृद्धि भई ८.३ प्रतिशत पुगेपछि लगानीकर्ताहरु अत्तालिन पुगेका छन् । मूल्यवृद्धि नियन्त्रणका लागि आफूहरुले जस्तोसुकै समस्या पनि भोग्न तयार रहेको जनाउँदै फेडका अध्यक्ष जेरोम पावेलले आगामी बुधबार बैठक बसी औसत ब्याजदर बढाउने निर्णय गरेका छन् ।

सेयरबजार ओरालो लाग्दा अमेरिकी ट्रेजरी इल्ड १५ वर्ष यताकै उच्च हुन पुगेको छ । दुई वर्षे ट्रेजरी इल्डको कुपन रेट वृद्धि भएर ३.८०४० प्रतिशत हुन पुगेको छ भने १० वर्षे ट्रेजरी नोटको कुपन रेट बढेर ३.४२७३ प्रतिशत हुन पुगेको छ ।  वाल स्ट्रिट दुई वर्ष यताकै कम विन्दुमा पुगेको बेला डलर सन् २०२० यताकै उच्च हुन पुगेको छ ।

यसैगरी विस्तारकारी मौद्रिक नीति अवलम्बन गरिरहेको जापानसँगको विनिमयमा डलर २४ वर्ष यताकै उच्च भएको छ । आज १ डलर बराबर १४४.४ जापानी येन विनिमय भइरहेको छ । जापानले अवलम्बन गरेको विस्तारकारी मौद्रिक नीतिका कारण येन यतिबेला समस्याग्रस्त रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २९ भदौ २०७९, बुधबार ११ : २३ बजे