सरकारको दुई महिनाको प्राप्ति १६३ अर्ब, खर्च १३४ अर्ब, विकास खर्च ५८६ करोड मात्र

सरकारको दुई महिनाको प्राप्ति १६३ अर्ब, खर्च १३४ अर्ब, विकास खर्च ५८६ करोड मात्र

चालु आवको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा सरकारको कुल प्राप्ति एक खर्ब ६३ अर्ब दुई करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा सरकारले एक खर्ब ४३ अर्ब ८१ करोड राजस्व तथा ७९ करोड ३० लाख वैदेशिक अनुदान मार्फत प्राप्ति गरेको हो । यसबाहेक अन्य प्राप्ति शीर्षकमा सरकारले १८ अर्ब ४२ करोड प्राप्त गरेको छ ।

सरकारले एक खर्ब ३० अर्ब ७० करोड कर राजस्व तथा १३ अर्ब १० करोड गैरकर राजस्व हो । २ महिनाको अवधिमा वार्षिक लक्ष्यको १०.२५ प्रतिशत राजश्व संकलन भएको छ भने वैदेशिक अनुदान वार्षिक लक्ष्यको १.४३ प्रतिशत प्राप्त भएको महालेखाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो ।

एक खर्ब ३४ अर्ब खर्च

सरकारले आव २०७९/८० को पहिलो दुई महिनामा एक खर्ब ३४ अर्ब ३३ करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले कुल बजेटको ७.४९ प्रतिशत खर्च गरेको हो ।

सरकारले भदौसम्म चालूतर्फ एक खर्ब ८ अर्ब ७३ करोड खर्च गरेको छ । यो कुल चालू खर्च लक्ष्यको ९.१९ प्रतिशत हो ।

सरकारले दुई महिनामा जम्मा १.५४ प्रतिशत अर्थात पाँच अर्ब ८६ करोड रुपैयाँ मात्र पूँजीगत खर्च गरेको छ । चालु आवका लागि सरकारले पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ १९ अर्ब ७४ करोड रुपियाँ खर्च भएको छ । यो खर्च कुल वित्तीय खर्च लक्ष्यको ८.५४ प्रतिशत हो । चालु आर्थिक वर्ष वित्तीय व्यवस्थाका लागि सरकारले दुई खर्ब ३० अर्ब २१ करोड रुपियाँ छुट्याएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २ असोज २०७९, आइतबार ०८ : ४५ बजे