बैंकहरुबाट दुई महिनामा ५५ अर्ब निक्षेप बाहिरियो, कर्जा १५ अर्बले बढ्यो

0
Shares

चालु आर्थिक वर्ष सुरु भएयता बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ भने यसअवधिमा बैंकहरुले १५ अर्बले कर्जा विस्तार गरेका छन ।

नेपाल बैंकर्स संघका अनुसार साउन र भदौमा गरेर वाणिज्य बैंकहरुको ५५ अर्ब निक्षेप घटेको हो । निक्षेप घट्दा बैंकहरुको कर्जा विस्तार केहि सुस्ताएको छ । पछिल्लो दुई महिनामा वाणिज्य बैंकहरुले १५ अर्ब मात्र कर्जा परिचालन गर्न सकेका छन ।

गत आर्थिक वर्षको अन्त्य अर्थात असारमसान्तसम्मा वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा भदौ मसान्तसम्म आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ८६ अर्बमा झरेको छ । त्यस्तै असार मसान्तसम्ममा ४१ खर्ब ७५ अर्ब कर्जा परिचालन गरेका बैंकहरुको भदौ मसान्तसम्ममा ४१ खर्ब ९० अर्ब कर्जा परिचालन गरेका छन।

बैंकहरुमा स्रोतको कमी हुँदा कर्जा परिचालनले गति लिन नसकेको हो । दशैं तिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा रेमिट्यान्स आप्रवाहमा सुधार आउँदै गर्दा भदौको अन्तिम सातामा भने बैंकहरुको निक्षेप उच्चदरले बढेको छ ।

भदौको अन्तिम सातामा वाणिज्य बैंकहरुमा ४० अर्ब ५४ करोड निक्षेप थपिएको छ । भदौको अन्तिम साता बैंकहरुले २ अर्ब २० करोड मात्र कर्जा परिचालन गरेका छन । साउनमा बैंकहरुबाट १०८ अर्ब निक्षेप बाहिरिएको थियो भने सो महिनामा बैंकहरुले २ अर्ब कर्जा परिचालन गरेका थिए ।

भदौ महिनामा मात्र बैंकहरुमा ५३ अर्ब निक्षेप थपिएको छ । भदौ महिनामा बैंकहरुले १३ अर्ब कर्जा परिचालन गरेका छन । गत साउनको अन्त्यसम्म बैंकहरुमा ४४ खर्ब ३३ अर्ब निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले ४१ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका थिए ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५० खर्ब ८५ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब २३ अर्ब कर्जा परिचालन गरेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।