राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ५६ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा एक वर्ष अवधि (३६७ दिन) का लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले उक्त रकम आगामी कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म मुद्दती राख्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकमा ८ करोड ४० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी यही असोज २४ देखि २६ गतेसम्म बोलकबोल पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रूपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्थाहरूका लागि केही सर्तसमेत तोकेको छ । न्यूनतम पुँजी कोष कायम गरेको, सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, निक्षेप लिनका लागि खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने जनाएको छ ।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने सर्त राष्ट्र बैंकले राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।