कात्तिकमा निक्षेपको ब्याजदर नबढाए पनि कर्जाको बढाउने तयारीमा बैंकहरु, औपचारिक निर्णय शुक्रबार

0
Shares

वाणिज्य बैंकहरुले कात्तिक महिनामा निक्षेपको ब्याजदर थप नबढाउने भएका छन् । असोज महिनामा ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि सोही ब्याजदरलाई निरन्तरता दिने भएका हुन ।

बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर भदौ महिनाको ब्याजदरको १० प्रतिशत विन्दुले बढाएर १२.१३३ प्रतिशत कायम गरेका थिए । त्यतीमात्र नभई बैंकिङ च्यानलबाट आएको रेमिट्यान्सलाई मुद्दती निक्षेप राख्दा दिने ब्याजदर भने १५ प्रतिशत भन्दा माथि पुर्याएका छन् ।

असोज महिनामा चाडबाडमा उपभोगका लागि आएको रेमिट्यान्सले दसैं अघि बैंकहरुमा केही निक्षेप बढेको थियो। तर, दसैंको सुरुवाती संगै निक्षेप झिकिन थालेको थियो ।

दसैं सकिएसंगै बैंकहरुबाट करिब ४० अर्ब निक्षेप घटिसकेको छ । यसरी निक्षेप घटेपछि बैंकहरुले ब्याजदर बढाएर पनि निक्षेप नआउने तर्क सहित कात्तिक महिनामा असोजकै दरलाई निरन्तरता दिने अनौपचारिक सहमती गरेको एनबीए स्रोतले जानकारी दियो ।

“बैंकर्सं संघको कार्यकारी समितिमा ब्याजदर नबढाउने अनौपचारिक सहमती जुटेको छ,” स्रोतले भन्यो,“कार्याकारी समितिमा नभएका बैंकहरुको पनि राय लिएपछि औपचारिक निर्णय गरिने भएकाले सुझाब संकलनको काम भैरहेको छ ।” सबै बैंकको राय आएपछि शुक्रबार औपचारिक निर्यण हुने स्रोतले जानकारी दियो ।

बैंकहरुले कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएपनि कर्जाको ब्याजदर भने बढ्ने देखिएको छ । निक्षेपको ब्याजदर वृद्धि गरेर कस्ट अफ फण्ड बढाएका बैंकहरुले कर्जाको ब्याज बढाउन पाएका थिएनन । निक्षेपको ब्याजदर अघिल्लो महिनाका लागि चालु रहेको महिनाको अन्तिममै ब्याजदर प्रकासीत गर्नुपर्छ । तर, कर्जाको ब्याजदर बढाउनका लागि बेस रेट बढाउनु पर्ने हुन्छ । त्यसका लागि बैंकहरुले हरेक त्रैमासको समाप्ति पर्खनु पर्ने हुन्छ ।

असोज महिना चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम महिना भएकाले कात्तिक महिना देखि लागु हुने गरी आधार ब्याजदर बैंकहरुले परिवर्तन गर्न पाउछन । असोजमा बढेको ब्याजदरको बोझ ऋणीमा पास अन गर्नका लागि पनि बैंकहरुले कात्तिक देखि कर्जाको ब्याजदर बढाउने छन् । अहिले बैंकहरुको औसत आधार ब्याजदर ९.७२ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।