हेभी इक्यूपमेन्टको बिक्रेता भुसाल बिजनेस हाउसको यो वर्षको कारोबार ६२ करोड बढी

0
Shares

भुसाल ग्रुप प्रवद्धक रहेको भुसाल बिजनेस हाउसको सन् २०२२ को जुलाई सम्मको सञ्चालन आम्दानी ६२ करोड २० लाख रहेको छ । हाउसको सो आम्दानी हेभी इक्यूपमेन्टहरुको बिक्री मार्फत भएको हो ।

यस अघि सन् २०२१ मा कम्पनीको लेखापरीक्षण भएको विवरण अनुसारको सञ्चालन आम्दानी १८ करोड ९० लाख रहेको थियो । सन् २०२२ को जुलाई सम्ममा नै राम्रो आम्दानी गरिरहेको भुसाल बिजनेस हाउसको वित्तीय सूचांकहरुमा सकरात्मक सुधार आएको छ ।

सन् २०२२ को सञ्चालन आम्दानी लेखापरिक्षण नभएको विवरण भएपनि २०२१ को लेखापरिक्षण भएको विवरणका आधारमा देखिएको आम्दानीको तीन गुणा धेरै हो । ब्याकहु लोडरको आधिकारिक बिक्रेता रहेको भुसाल बिजनेस हाउसले न्यू होल्यान्डका निर्माण साधन, कृषि उपकरण र हेभी इक्यूपमेन्टहरुको नेपालभर बिक्री वितरण गर्दै आएको छ ।

सन् २०२० मा स्थापना भएको यो कम्पनीको प्रवद्र्धक भुसाल ग्रुप रहेको छ भने यसको नेतृत्व बालकृष्ण भुसालले गरेका छन् । सन् २०२० मा स्थापना भएता पनि न्यु होल्यान्डको ब्रान्ड र यसले उत्पादन गर्ने विविध कृषि उपकरण देखि हेभी इक्यूपमेन्टका कारण स्थापनाको दुई वर्षमै राम्रो आम्दानी गर्न सफल भएको छ ।

सन् २०२१ को परिष्कृत विवरण अनुसार कम्पनीका सेयर धनीको पुँजी र कर्जाको अनुपात (गियरिङ रेसियो) ५.४० गुणा रहेको छ । यसैगरी सन् २०२२ को उक्त अनुपात २.७४ रहेको छ । यसका साथै सन् २०२२ को अमोर्टाइजेसन, डिप्रिसियसन, ब्याज र कर अघिको आम्दानी कुल सञ्चालन आम्दानी ५.७९ प्रतिशत रहेको छ । यस अघि २०२१ मा उक्त प्रतिशत ४.१६ रहेको थियो ।

यसै क्रममा क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ८५ करोड अल्पकालीन ऋणका लागि भुसाल बिजनेस हाउसलाई ए४ रेटिङ प्रदान गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।