३० अर्बको रिपो निष्कासन गर्दा ४१ अर्बको आवेदन, ब्याजदर स्थीर

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार निष्कासन गरेको ३० अर्ब रुपैयाँ बराबरको रिपोमा ४१ अर्ब ५५ करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउन खोज्दा अधिक माग आवेदन परेको हो ।

बैंकिङ प्रणालीमा असोज महिना लागेपछि निक्षेपमा केही सुधार आएको थियो । तर, असोज महिनाको अन्तिममा आएर पुनः निक्षेप अस्वभाविक रुपमा घट्न थालेको छ । बैंक वित्तीय संस्थावाट निक्षेप घट्न थालेपछि केन्द्रीय बैंकले तरलता प्रबाह गर्न ३० अर्बको रिपो जारी गरेको हो ।

केन्द्रीय बैंकले बिहीबार निष्कासन गरेको रिपोमा अधिक र न्यूनतम ब्याजदर घटेर आवेदन परेको छ । तर, औसत ब्याजदर भने यसभन्दा अघिको सात दिने रिपोको तुलनामा केही बढेको छ ।

बिहीबार रिपो खरिदका लागि धेरै ब्याजदर अफर गर्नेले ८.५२ प्रतिशत अफर गरेका छन । यो ब्याजदर यसभन्दा अघि भदौ ३० गते निष्कासन भएको सात दिने रिपोमा तुलनामा कम हो । सो दिन बैंकहरुले रिपोका लागि ८.५३ प्रतिशत बोल गरेका थिए । त्यसैगरी गत भदौ ३० गते न्यूनतम ८.३४ ब्याजदर अफ गरेका बैंकहरु वित्तीय संस्थाले बिहीबार ८.३० मात्र बोल गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको सात दिने रिपोको औसत रेट ८.४४५७ प्रतिशत कायम भएको छ । यसभन्दा अघि अर्थात गत भदौ ३० गतेको सात दिने रिपोको औसत रेट ८.४४५५ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।