ओम्नी प्रालिको आम्दानी घट्यो, आवश्यक तथ्यांक उपलब्ध नगराउँदा रेटिङमा गिरावट

0
Shares

ओम्नी ग्रुपको प्रमुख कम्पनी, ओम्नी प्रालिको सन् २०२२ को आम्दानीमा गिरावट आएको छ ।

सन् २०२१ मा परिष्कृत आम्दानी ३३ करोड रहेको थियो । यस वर्षको आम्दानी (अपरिष्कृत) ३२ करोड ५० लाख रहेको छ । ओम्नी प्रालि हायर पर्चेस कम्पनी रहेको हो । कम्पनी मार्फत ओम्नी ग्रुपले भाताबेन्चका सवारी साधन, एपोलो टायर, स्वाराज ट्रयाक्टरहरुको बिक्री गर्दै आइरहेको छ।

सन् २०२२ को जुलाई महिनासम्ममा कम्पनीको नेटवर्थ १ अर्ब ७ करोड १० लाख रहेको छ । यसैगरी कम्पनीको कुल व्यवस्थित पोर्टफोलियो २ अर्ब ९४ करोड २० लाख रहेको छ ।

सन् २०२२मा बैंकिङ कर्जाका लागि ओम्नी प्रालिले रेटिङ एजेन्सी इक्रा नेपालबाट डबल बी माइनस् रेटिङ पाएको छ । इक्राका अनुसार ओम्नी प्रालिले रेटिङ कार्यमा सहकार्य नगरेको र बारम्बार सम्पर्क गर्दा पनि आवश्यक डाटा उपलब्ध नगरेको जनाएको छ । यसैकारण इक्राले ओम्नीलाई “इस्स्युअर नट कोअपरेटिङ” अन्तर्गतका कम्पनीहरुमा वर्गीकरण गरेको छ ।

यस अघिको बैंकिङ कर्जा रेटिङमा कम्पनीले डबल रेटिङ पाएको थियो भने अहिलेको रेटिङमा गिरावट आएको छ । इक्राले २ अर्ब १९ करोड बराबरको दीर्घकालीन कर्जाका लागि ‘डबल बी’ बाट रेटिङ घटाएर ‘डबल बी माइनस्’ दिएको छ । यसैगरी १ अर्ब ४८ करोड बराबरको अल्पकालीन कर्जाका लागि ‘ए-४ रेटिङ’ गरेको छ ।

बीरगंजको आदर्शनगरमा रहेको ओम्नी प्रालिका तीन प्रमोटर रहेका छन् । कम्पनीमा आत्म राम काब्राको ४५ प्रतिशत लगानी, हरि नारायण काब्राको ४५ प्रतिशत लगानी र सन्दि कुमार मोहताको १० प्रतिशत लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।