रोकिएन निक्षेप बिनै कर्जा दिने अभ्यास, पहिलो त्रैमासमै निक्षेपको ८ गुणासम्म कर्जा

0
Shares

वाणिज्य बैंकहरुले निक्षेप संकलन नबढ्दा पनि कर्जा लगानी गर्ने अभ्यास अझै पनि रोकिन सकेको छ । बैंकहरुले स्रोतको व्यवस्थापन भन्दा पनि व्यवसाय विस्तार र आम्दानी बढाउन ध्यान केन्द्रित गर्दा कर्जा र निक्षेप बिच असन्तुलन देखिने गरेको हो ।

बैंकहरुले कर्जा लगानी गर्दा त्यसका लागि स्रोत व्यवस्थापनको पक्षलाइ ध्यान नदिने गरेको देखिन्छ । निक्षेप लिदा बैंकहरुलाई खर्च लाग्ने र कर्जा लगानी गर्दा आम्दानी हुने भएकाले पनि बैंकहरुले निक्षेप भन्दा कर्जालाई बढाउन बढी केन्द्रित गरेको स्पष्ट हुन्छ । त्यसैगरी बैंकहरुको खर्च भनेको निक्षेप लिदाँ देखि अन्य शिर्षकमा हुन्छ भने आम्दानीको मूख्य स्रोत भनेको कर्जाको ब्याज नै हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकहरुको निक्षेप ५ अर्ब ७१ करोड रुपौयँ बढेको छ । तर, सो अवधिमा बैंकहरुको कर्जा भने ४५ अर्ब ४८ करोड रुपैयाँले बढेकोे छ । यो अवधिमा बैंकहरुको कर्जा निक्षेपको करिब ८ गुणाले धेरै हो । पहिलो त्रैमासमा बैंकहरुले साढे ४५ अर्ब कर्जा लगानी गरेको भएपनि असोज ३१ गते मात्रै ३५ अर्ब बरावरको ऋण लगानी गरेका छन् ।

चालु आवको पहिलो त्रैमासमा ११ वाणिज्य बैंकको निक्षेप घटेको छ । तर, कर्जा घट्ने बैंकको संख्या भने १० रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एनआइसी एसिया बैंकले सबैभन्दा धेरै १३ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । तर, बैंकले सो अवधिमा ४ अर्ब ८८ करोड रुपैयाँ मात्र कर्जा लगानी गरेको छ । त्यसैगरी सो अवधिमा सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकले ७ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

असोजसम्ममा एनसीसी बैंकको कर्जा र निक्षेप दुबै सबैभन्दा धेरै घटेको छ । बैंकको १० अर्बले निक्षेप घटेको छ भने ८ अर्ब भन्दा धेरैले कर्जा घटेको नेपाल बैंकर्स संघले जनाएको छ । चालु आवको पहिलो त्रैमासमा बैंकहरुले निक्षेपको ८ गुणासम्म कर्जा लगानी गर्दा पनि औसत कर्जा निक्षेप अनुपात भने ८७.२० प्रतिशत रहेको छ ।

कोरोनाका कारण बैंकिङ प्रणालीमा निक्षेप थुप्रिए संगै बैंकहरुले सस्तो दरमा आक्रमक रुपमा कर्जा लगानी गर्न थाले । बैंकहरुले आर्थिक वर्ष अर्थात २०७७/०७८ र २०७८/०७९ आक्रमक कर्जा लगानीलाई निरन्तरता नै दिएको हुनाले निक्षेप भन्दा कर्जा लगानी धेरै गरेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा बैंकहरुले ७१४ अर्ब निक्षेप संकलन गरेर ८१८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । त्यसैगरी गत आर्थिक वर्षमा पनि बैंकहरुले ३४० अर्ब निक्षेप संकलन गरेर ४५४ अर्ब कर्जा लगानी गरेका थिए ।

बैंकहरुले स्रोत सुनिस्चितता बिना नै कर्जा लगानी बढाएपछि बैंकिङ प्रणालीमा कर्जा लगानी योग्य रकम तथा तरलताको अभाव जटिल बन्न थाल्यो । त्यसपछि गत आर्थिक वर्षको सुरुवात देखि नै राष्ट्र बैंकले बैंकहरुको कर्जा प्रबाहको गतिलाई कम गर्न पुँजी, कर्जा तथा निक्षेप अनुपातलाई हटाइ कर्जा निक्षेप अनुपात कायम ग्रयो । त्यसंगै कर्जा निक्षेप अनुपातको गणनामा समेत कडाइ ग्रयो । त्यसपछि बैंकहरुले कर्जा प्रबाह विस्तार गर्ने भन्दा पनि घटाउने तर्फ ध्यान दिनु परेको अवस्था छ । तरपनि बैंकहरुले निक्षेपभन्दा कर्जा धेरै लगानी गर्ने अभ्यासलाइ भने निरन्तरता नै दिएका छ्न् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।