सयपत्री फूलको माग बढ्यो, प्रतिथुङ्गा चार रुपैयाँ देखि प्रतिकेजी ५ सयसम्ममा घरबाटै बिक्री

0
Shares

तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् ।

रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गरेका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन ।

“तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याई छ”, उनले भने । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उनले बताए। यसपटक तिहारमा मात्रै करिब दुई लाख ५० हजार बराबरको फूल बिक्री गर्ने उनको अनुमान छ ।

प्रतिमाला एक सय, प्रतिकिलो फूल पाँच सयमा धमाधम घरबाटै बिक्री भइरहेको छ । पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदान–प्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनुअघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिब एक लाख ५० हजार बराबरको फूल बिक्री गरे भने सङ्घ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचार–प्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दसैँयता मात्रै करिब ५० हजार बराबरको फूलमाला बिक्री गरेको उनी बताउँछन।

“फूलखेती सुरु गरेपछि मेरो पहिचान नै फेरिएको छ, पहिला घरपरिवार, आफन्तबाहेक कसैले चिन्दैनथे”,उनले भने, “करिब एक दशक विदेश बसेर गाउँ फर्केरलगत्तै फूलखेती गरेपछि सबैले राम्रोसँग चिन्नुहुन्छ, समाजमा नाम र दाम दुवै पाएपछि धेरै सन्तुष्टि छु ।”

फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । दिलबहादुरलाई यस व्यवसायमा श्रीमती सुकमाया थापाले सघाउँदै आएका छन । घर अगाडिको खेतभरि पहेँलै फुलेका फूलको दृश्यले घरको वातावरणमा सौन्दर्यता थपेको बताउछिन, सुकमाया थापा ।

गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । हाइब्रिड जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फुल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री खेतीका अलवा लोपोन्मुख मखमली फूलको खेती गर्ने दिलबहादुरले योजना बनाएका छन। यसै वर्ष मखमली लगाउने सोच बनाए पनि बीउ समयमा उपलब्ध नहुँदा सयपत्रीमात्रै लगाएका छन ।

यहाँ ढकमक्क फुलेका फूलले सबैको मन लोभ्याएको छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिकादेखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् । गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएका छन। सो तालिमले व्यवसायमा धेरै सहज भएको उनले बताए।

फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान, सीप पाएपछि नयाँ ढङ्गबाट खेती गरेका छन। करिब पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उनको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।

सयपत्री प्रतिथुङ्गा चार रुपैयाँमा बिक्री

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन। तिहारका समयमा उनलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो ।

“गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उनले भनिन, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।”

उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गरेकी छन। विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन ।

“हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो”, उनले भिनन“फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।”

फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ”, उनले भनीन ।

तिहारका बेला फूलको माग बढी हुने गरेको र पु¥याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ । “तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन”, श्रेष्ठले भनिन “तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ ।”

गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ । “यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ”, किसान श्रेष्ठले भनिन।

उनले प्रतिथुङ्गा रु चारमा फूल बिक्री गर्दै आएका छन । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै आएको उनले सुनाए । “मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचार–प्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिदिएको छ”, उनले भने ।

सरकारले केही दिन अगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ।

सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भने, “विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ । नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ ।” भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिकरूपमा फूलखेती लगाएका छन् । तिहार नजिकिँदै गरेको ७० प्रतिशतमात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताए । विकले भने, “बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पु¥याउनुपर्छ ।”

वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लाग्नुभएका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताए । फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताए।

सोही ठाउँका गोविन्द अधिकारीले विगत केही वर्षदेखि फूलखेती गर्दै आएका छन । स्थानीयस्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या रहँदै आएको उनको गुनासो छ । तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या हुँदै आएको उनी बताउछन । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ कात्तिक २०७९, आइतबार  ११ : २५ बजे