सिद्धार्थ बैंकको खस्कँदो प्रगति, खुद नाफा ४७.४८ प्रतिशत घट्यो

0
Shares

सिद्धार्थ बैंक लिमिटेड (SBL) को प्रगति खस्किएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ४७.४८ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २९ करोड ७८ लाख रुपैयाँ मात्र थियो ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ९२ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको अन्त्यसम्म बैंकले १ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

यस त्रैमासमा बैंकले २ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी तथा ७२ करोड ८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी २१.६२ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा भने ४६.८६ प्रतिशतले घटेको हो ।

एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो । गत आवको पहलिो त्रैमासमा २० करोड ८५ लाख १३ हजार रुपैयाँ रहेको बैंकको इम्पेरिमेन्ट चार्ज बढेर ८९ करोड ३० लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी २९.४१ रुपैयाँबाट घटेर १५.६१ रुपैयाँमा झरेको छ । बैंकको जगेडा कोषको आकार ५.११ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात ०.५४ प्रतिशत बाट बढेर २.१५ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७७.१५ रुपैयाँ, कस्ट अफ फण्ड ८.३५ प्रतिशत, आधारदर १०.४३ प्रतिशत, सीडी रेसियो ८८.१० प्रतिशत, स्प्रेडदर ३.९२ प्रतिशत र पीई रेसयो १९.५७ गुणा छ । बैंकको प्रतिसेयर कुल सम्पत्ति मूल्य २०६६ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।