साधारण सेयर निष्कासन प्रक्रिया झनै लम्बियो, बैदेशिक रोजगारीमा रहेकालाई दिएपछि मात्र सर्वसाधारणलाई

0
Shares

नेपाल धितोपत्र बोर्डले साधारण सेयर निष्कासन प्रक्रियालाई झनै लामो बनाएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरी बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि मात्र सर्वसाधारणमा बिक्री गर्न सकिने व्यवस्था गरेको हो ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरी कुनै पनि कम्पनीले साधारण सेयर निष्कासन गर्दा निष्काशन गरिने सेयरको १० प्रतिशत श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गर्ने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाको कार्यान्वयनका लागि बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशका संशोधन गरी बैदेशिक रोजगारमा भएका नेपालीका लागि छुट्याएको सेयर निष्कासन पछि मात्र सर्वसाधारणमा सेयर बिक्री सकिने व्यवस्था गरेको हो ।

यसरी बैदेशिक रोजगारमा रहेका नेपालीहहरुका लागि छुट्याएको सेयर निष्काशन गर्दा १५ दिनको अवधि तोकि आव्हानपत्र प्रकाशित गर्नु पर्नेछ । यसरी छुट्याएको सेयरमा आवेदन दिनका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिइ विदेशमा बसेर काम गर्नेले मात्र पाउने व्यवस्था छ ।

त्यसैगरी बैदेशिक रोजगारमा गएका लागि छु्याएको सेयरमा आवेदन दिंदा विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नु व्यवस्था निर्देशिकाले गरेको छ । यसरी सेयर आवेदन दिने विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको सेयर निष्कासन तथा बाँडफाँड भएपछि मात्र सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु पर्नेछ । यसरी छुट्याएको सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो शेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्नेछ ।

विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी खोल्न सकिनेछ । विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुका लागि बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सिआरएन नम्बर लिई आवेदन दिने व्यवस्था गर्न सक्नेछ ।

निष्काशित सेयरमा आवेदन दिएका विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकले सर्वसाधारणलाई छुट्याएको शेयरमा आवेदन गर्न नसक्ने व्यवस्था समेत निर्देशिकाले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।