नौ बैंकले घोषणा गरे लाभांश

0
Shares

हालसम्म ९ बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।

सोमबार बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।

नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले सेयरधनीलाई कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

कुन बैंकको कति ?

गत आवको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस सेयर र १०.६० प्रतिशत नगद सेयर गरी कुल १३.६० प्रतिशत प्रस्ताव गरेको छ ।

यस्तैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र ०.९८ प्रतिशत नगद सेयर गरी सेयरधनीलाई १०.९८ प्रतिशत, एनसिसी बैंकले ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद सेयर गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

कुमारी बैंकले १२.५० प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले ९ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका ९ बैंकमध्ये एनसिसी, कुमारी र सिटिजन्स बैंकको बुकक्लोज भइसकेको छ ।-रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।