गोल्छा ग्रुपको नियोटेरिक नेपालको कारोबार झण्डै चार अर्ब, सञ्चालन आम्दानी ६३%ले बढ्यो

0
Shares

नेपालको शीर्ष व्यापारिक घराना गोल्छा ग्रुपको लगानी रहेको नियोटेरिक नपालले सन् २०२१ मा ३ अर्ब ७८ करोड ८० लाख बराबरको कारोबार गरेको छ । जसकारण सन् २०२० को तुलनामा २०२१ को सञ्चालन आम्दानी ६३ प्रतिशत बढेको हो ।

सन् २०२० मा नियोटेरिक्स नेपालको सञ्चालन आम्दानी २ अर्ब ३२ करोड ७० लाख रहेको थियो । तर कोभिड–१९ संक्रमण फैलिएको समयमा मानिसहरुले अनलाइन क्लास, वर्क फ्रम होम लगायतका कामहरु गर्नका लागि स्मार्ट फोन र ल्यापटप आवश्यक भएका कारण बजारमा माग बढेको थियो ।

बढ्दो मागबीच प्रख्यात मोबाइल तथा ल्यापटप कम्पनी डेल, नोकिया, हिकभिजनको आधिकारिक बिक्रेता रहेको नियोटेरिक नेपालको आम्दानीमा पनि वृद्धि भएको छ ।

सूचना, प्रविधि क्षेत्रमा समेत काम गर्दै आएको नियोटेरिक नेपालले कुल ३० वटा ब्रान्डको १ हजार भन्दा धेरै सामाग्रीहरुको बिक्री गर्दै आएको छ । यसैगरी नियोटेरिक नेपाल मोबाइल कम्पनी नोकिया, ल्यापटप कम्पनी डेल टेक्नोलोजिज, डेल एएमसी, हिकभिजन, लोजीटेक, पिपल लिंक, एसएपी लगायतका विभिन्न कम्पनीहरुको नेपालका लागि आधिकारिक बिक्रेता रहेको छ ।

यसै सन्दर्भमा ३ अर्ब ४० करोड ४८ लाख २० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि नियोटेरिक नेपालले रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट डबल बी प्लस र ए४ प्लस रेटिङ पाएको छ ।

कम्पनीले ४८ लाख २० हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र ३ अर्ब ४० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ पाएको छ ।

बलियो व्यापारिक घरानाको लागानी र अनुभव प्राप्त व्यवसायीहरुबाट सञ्चालन आएको नियोटेरिक नेपालका अध्यक्ष सञ्जय गोल्छा रहेका छन् । शेखर गोल्छाको लगानी रहेको हिम इलेक्ट्रोनिक्स नियोटेरिक नेपालको एकल संस्थागत प्रमोटर रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले गरेको ब्याजदर वृद्धि, बजारमा अन्य ब्रान्डका कम्पनीहरु विकास हुँदा प्रतिष्पर्धा बढ्दै जानु लगायतका चुनौतीहरु नियोटेरिक नेपालका रहेका छन् । तर पनि आइटी क्षेत्र बढ्दै गएको लगानी, मानिसहरुको आकर्षणका कारण कम्पनीको आर्थिक वृद्धि स्थिर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।