गोयङ्का स्टील्सको घाटा बढ्दै, कर्जा रेटिङमा पनि गिरावट

0
Shares

गोयङ्का स्टील्सको घाटा वार्षिक रुपमा बढ्दै गएको छ ।

सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख आम्दानी गरेको गोयङ्का स्टील्सको सञ्चालन आम्दानी सन् २०२० मा खुम्चिएर २ अर्ब १४ करोड ३६ लाख रहेको थियो ।

यसैगरी सन् २०२० को तुलनामा २०२१ को सञ्चालन आम्दानी १ अर्ब ८ करोड ७९ लाखमा मात्रै सिमित हुन पुगेको छ ।

कोभिड–१९ का कारण निर्माणका काममा भएको ढिलासुस्ती, सरकारले विनियोजन गरेको पुँजीगत खर्च समयमा खर्च गर्न नसक्नु, कच्चा पदार्थको आयातमा लगाइएको कडाइ लगायतका कारणहरुले गोयङ्का स्टील्सको वित्तीय रेखाचित्र कमजोर देखाएको रेटिङ एजेन्सी इक्राले जनाएको छ ।

यसैगरी निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुको सङ्ख्यामा भएको वृद्धि र प्रतिस्पर्धाको सामना पनि उद्योगले गर्नु परेको छ ।

कम्पनीले २ अर्ब १३ करोड ५२ लाख ६० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि इक्राले डबल बी माइन्सबाट डाउनग्रेड गरेर डबल बी माइन्स र ए४ प्लसबाट डाउनग्रेड गरेर ए ४ रेटिङ गरेको छ ।

यसैगरी इक्राले उद्योगलाई इस्सुअर नट कोअपरेटिङको सूचीमा परेका कम्पनीहरुमा वर्गीकरण गरेको छ । पटक पटक सम्पर्क गरेर आवश्यक जानकारी संकलन गर्दा गोयङ्काबाट कुनै प्रतिक्रिया नआएको इक्राले प्रष्ट पारेको छ ।

सन् २००८मा स्थापना भएको गोयङ्का स्टील्स पारिवारिक व्यवसाय रहेको छ । गोयङ्का ग्रुप प्रमोटर रहेको गोयङ्का स्टील्स रामगोपाल गोयङ्का र उनका दुई छोरा–अम्रित र अजय गोयङकाको स्वामित्वमा रहेको छ ।

गोयङ्का स्टील्सले गोयङ्का गोल्ड ब्रान्ड नाममा टीएमटी छडको बिक्री वितरण गर्दै आएको छ । प्रतिवर्ष ८८ हजार ५ सय मेटिक टन उत्पादन क्षमता रहेको गोयङ्का स्टील्स उद्योग रुपन्देहीको गोनाह गाउँमा अवस्थित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।