असोजको मूल्य वृद्धि साढे आठ प्रतिशत, भदौको तुलनामा घट्यो 


चालु आर्थिक वर्षको असोज महिनाको मुद्रास्फीति साढे आठ प्रतिशत रहेको छ । यो मुद्रास्फीति गत भदौ महिनाको तुलनामा घटेको हो । 

असोजमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५ रहेको मुद्रास्फीति भदौ महिनामा ८.६४ प्रतिशत रहेको थियो । तर, गत आवको सोही अवधिको तुलनामा भने दोब्बरले धेरै हो । गत आवको असोज महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । 

चालु आवको असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । असोजमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ । 

असोजमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ७.६८ प्रतिशत रहेको छ । 

चालु आवको असोजमा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ असोज महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७९ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । गत आव सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो । असोज महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । असोजमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.२७ प्रतिशत रहेको छ । 

२०७९ असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.५९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ४.९२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.३४ प्रतिशतले बढेको छ । २०७९ असोज महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । सन् २०२२ अक्टोबर महिनामा भारतको यस्तो मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।