बीमा अभिकर्तालाई ट्रयाकिङ्ग गर्दै बीमा प्राधिकरण

0
Shares

नेपाल बीमा प्राधिकरणले अब देखि बीमा अभिकर्तालाई ट्रयाकिङ्ग गर्ने भएको छ । प्राधिकरणले अभिकर्ता एक भन्दा बढी कम्पनीमा आबद्ध भए नभएको थाहा पाउन ट्रयाकिङ्ग प्रणाली लागू गर्न लागेको हो ।

नयाँ बीमा ऐन २०७९ बमोजिम कुनै पनि अभिकर्ता एक भन्दा बढी बीमा कम्पनीमा आबद्ध हुन नपाउने व्यवस्था गरेको छ । सोही बमोजिम प्राधिकरणले अभिकर्ताको आबद्धता परिक्षण गर्न यस्तो प्रणाली लागू गर्ने भएको हो ।

प्राधिकरणका अनुसार यस अघि बीमा अभिकर्ताको लाईसेन्स लिईसकेका अभिकर्ताको हकमा आगामी चैत मसान्तसम्ममा कुनै एक कम्पनी छनौट गर्न दिईनेछ । त्यस्तै, नयाँ लाईसेन्स लिने अभिकर्ताको हकमा भने शुरुवातमा नै कम्पनी तोकेर नै अभिकर्ताको लाईसेन्सका लागि आवेदन दिनुपर्नेछ ।

तर, बीमा अभिकर्ताले भने प्राधिकरणको यस्तो निर्णय प्रति विरोध जनाउँदै आएका छन् । प्राधिकरणले गरेको यस्तो व्यवस्थाले अभिकर्ता पलायन हुने अवस्थाको सृजना हुने पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बताए । उनका अनुसार अभिकर्ता अब बीमा नियमावलीको पखाईमा छन् । नियमावलीमा प्राधिकरणले अभिकर्ताको लागि केही थप सुविधाको व्यवस्था गर्न सक्ने अपेक्षा गरेको उनले बताए ।

बीमा प्राधिकरणले भने बीमा अभिकर्ता एक भन्दा बढी बीमा कम्पनीमा आबद्ध हुँदा पोलिसी ल्याप्सको संख्या बढेको दाबी गरेको छ । अभिकर्ताले नियतवश कमिशनको लोभमा बीमितलाई एक कम्पनीको पोलिसी सरेन्डर गर्न लगाई अर्को कम्पनीको पोलिसी खरिद गर्न प्रेरित गर्ने गरेको दाबी गरेको छ । फलस्वरुप कम्पनी र बीमित घाटामा जाने र बीमितलाई मात्रै फाईदा हुने प्राधिकरणले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।