सामाजिक सञ्जालमा विज्ञापन गरी दलका नेताले खर्चिए झण्डै दुई करोड

0
Shares

गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जालको विज्ञापनमा एक लाख ४० हजार ६३९ डलर अर्थात झण्डै दुई करोड रुपैयाँ खर्चिएका छन् ।

फेसबुक मेटा एड लाईब्रेरीको रिपोर्ट अनुसार सेटेम्बर देखि निर्वाचन अघिसम्म राजनीतिक दल, उम्मेदवार र केही सामाजिक संस्थाले गरेका विज्ञापनमा एक करोड ८२ लाख रुपैयाँ खर्च भएको पाईएको छ । सो अवधिमा सामाजिक सन्जालमा नौ हजार १३२ वटा विज्ञापन प्रकाशन भएको थियो ।

समाजिक सञ्जालको विज्ञापनमा निर्वाचनका लागि श्रीराम गुरुङ्गले सबैभन्दा बढी खर्चिएको रिपोर्टले देखाएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । उनले श्री गुरुङ्ग नामक पेज मार्फत ५५०३ डलर बराबरको विज्ञापन गरेका थिए । उनले सन्जालमा २८ वटा विज्ञापन गरेका थिए ।

डा. सुरेश बस्नेत नामक पेजका लागि सुरेश बस्नेतको नामबाट ३१ वटा विज्ञापन गरिएको छ । जसका लागि ३०२९ डलर खर्च गरिएको छ । त्यस्तै, किरण पौडेलले ७७ वटा विज्ञापनका लागि २८१९ डलर खर्चेका छन् । सुशान्त श्रेष्ठ पेजका लागि सुयोग श्रेष्ठले ६२ वटा विज्ञापन गरी २४४२ डलर खर्च गरेका छन् ।

सिपिएन युनिफाईड सोसलिस्ष्टको पेजको २८ वटा विज्ञापनको लागि २१९८ डलर खर्च भएको छ । पुनम घिमिरले किन नेपाली कांग्रेस नामक पेजको लागि १९२९ डलर खर्च गरेका छन् । यो पेजको २६ वटा विज्ञापन गरिएको थियो । सोम प्रसाद पाण्डेले २८ वटा विज्ञापन गरी १८४९ डलर खर्चिएका छन् ।

जगनाथ लामिछाने पेजको लागि १८३२ डलर खर्च भएको छ । प्रदिप पौडेलले १७९४, रविन्द्र मिश्रले १७१७, भोट फर उमेश श्रेष्ठको पेजको लागि १५६० डलर खर्च गरेका छन् ।

उपेन्द्र यादव पेजका लागि पिपुल सोसोलिष्ट पार्टीले ३५ वटा विज्ञापन गरी १५०२ डलर खर्च गरेको छ । सिभेन्द्र केसीका लागि ५१ वटा विज्ञापन गरी १४१३ डलर खर्च गरिएको छ । विकास पुरुष इश्तियाक राईलाई फेरि जिताऔ नेपालगंजलाई समृद्ध बनाऔं नामक पेजको लािग १४०८, जीवन घिमिरेले १३९४, नेपाली कांग्रेस पेजका लागि १३६४, सोम प्रसाद पाण्डेले १३४१ डलर खर्च गरेका छन् ।

त्यस्तै, बाँकेको उम्मेदवार राष्ट्रिय समाजवादी पार्टीका नेता इश्तियाक राईले सबैभन्दा बढी ११३ वटा विज्ञापन गरेका छन् । अमृत खड्का समर्थक समूह पेजले ८८, जन्म जय तिमिल्सीनाले ८२, किरण पौडेले ७७, देवराज घिमिरेको ६२, रमेश खरेल ५९, विराज भक्त श्रेष्ठ ५७, रन्जु दर्शना ५६ वटा विज्ञापन गरेकी छिन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाका प्रतिनिधिको लागि २३ देखि ३३ लाख रुपैयाँ प्रचार खर्च तोकेको थियो भने प्रदेशसभाका उम्मेदवारका लागि १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सिमा तोकेको थियो ।

त्यस्तै, सो अवधिमा बाग्मती क्षेत्रबाट लागि ६४ हजार १३६ डलर अर्थात् ८३ लाख ३७ हजार रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ । नारायणी क्षेत्रबाट १३ हजार ०७७ डलर अर्थात् १७ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, कोशी क्षेत्रबाट १३ हजार ०२४, लुम्बिनी क्षेत्रबाट १० हजार १३, गण्डकी क्षेत्रबाट ८ हजार ६५८, मेची क्षेत्रबाट ७ हजार ६१९, जनकपुर ६ हजार १४५, भेरी क्षेत्र ५ हजार ५७८, सगरमाथा क्षेत्र ४ हजार ६७, राप्ती क्षेत्र ३ हजार १२९, सेती क्षेत्र २ हजार ३२०, धवलागिरी क्षेत्र १ हजार ३३८, महाकाली क्षेत्र १ हजार १८४ र कर्णाली क्षेत्र २८२ डलर खर्च भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।