रोजगारीको लागि नयाँ गन्तब्य बन्दै माल्टा र रोमानिया

0
Shares

नेपाली कामदारका लागि माल्टा र रोमानिया नयाँ गन्तब्य मुलुक बन्न थालेको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि जाने युवाहरु मलेशिया र मध्यपूर्वको विकल्पको रुपमा माल्टा र रोमानियालाई लिन थालेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधिमा मध्यपूर्व र मलेसिया पछि सबैभन्दा धेरै नेपाली कामदार माल्टा र रोमानिया गएका छन् । सो अवधिमा दुई हजार ८६० नेपाली कामदार माल्टा पुगेका छन् । गत आवको सोही अवधिमा जम्मा ५२ जना माल्टा पुगेका थिए । तर, गत आर्थिक बर्ष भरीमा भने एक हजार २७५ जना नेपाली कामदार माल्टा पुगेको केन्द्रिय बैंकको तथ्यांक छ । अघिल्लो आवमा जम्मा ६४ जना माल्टा पुगेका थिए ।

त्यस्तै, चालु आर्थिक बर्षको पहिलो तीन महिनाको अवधिमा दुई हजार ४४९ जना नेपाली कामदार रोमानिया पुगेका छन् । गत आवको सोही अवधिमा एक हजार ५२ जना रोमानिया पुगेका थिए । तर, गत आर्थिक बर्ष भरीमा भने ६ हजार ४२३ माल्टा पुगेको तथ्यांकले देखाउँछ । त्यस्तै, अघिल्लो आर्थिक बर्ष एक हजार ९५४ नेपाली कामदार माल्टा पुगेका छन् ।

त्यस्तै, चालु आवको पहिलो तीन महिना अवधिमा एक हजार ५५ जना नेपाली कामदार साईप्रस पुगे । ८२६ जना माल्दिभ्स, ४९६ पोल्याण्ड, ५३ जना टर्की र १२५ जना अफगानिस्तान पुगेको तथ्यांकले देखाएको छ ।

मध्यपूर्व र मलेसियाको तुलनामा माल्टा, रोमानिया, पोल्याण्ड जस्ता युरोपियन मुलुकमा पारिश्रमिक र सेवा सुविधा राम्रो छ । त्यसैले नेपाली युवाहरु त्यतातिर आकर्षित भएको वैदेशिक रोजगार व्यवसायी संघका संयोजक नवराज ढकालले बताए । उनका अनुसार अहिले नेपाली म्यानपावर कम्पनीले नै नेपाली युवालाई माल्टा रोमानिया लगायतका मुलुकमा पठाउँदै आएका छन् । तर, यि मुलुकसँग नेपाल सरकारले श्रम सम्झौता भने गरेको छैन ।

नेपाल सरकारले हालसम्म विश्वका १०९ मुलुक खुल्ला गरेको छ । तर, १० वटा मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ । युरोपका विभिन्न मुलुक नेपाली कामदारको लागि सम्भावित गन्तब्य भए पनि सरकारको उदासिनताले नेपाली कामदारले अवसर पाउन नसकेको संघका संयोजक ढकालले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।