दुई पाङ्ग्रेको व्यापार घट्दा हुलास फिन सर्भको आम्दानीमा गिरावट

0
Shares

गोल्छा समुहको हायर पर्चोज फाइनान्सीङ संस्था हुलास फिन सर्भको आम्दानीमा गिरावट आएको छ । सरकारले १५० सीसी क्षमता भन्दा माथिका मोटरसाइल आयातमा रोक लगाएपछि संस्थाको आम्दानी घटेको हो ।

आयात प्रतिबन्ध मात्र नभई वित्तीय क्षेत्रमा तरलता तथा लगानी योग्य रकमको अभावको असरले पनि दुइ पाङ्ग्रेको ब्यापारमा असर गरेको छ । त्यसका साथै वित्तीय प्रणालीको बढेको ब्याजदरले पनि मोटरसाइकलको बिक्रीमा असर गरेपछि हुलास फिन सर्भको आम्दानी प्रभावित भएको हो ।

संस्थाले सन् २०२१ मा ६१ करोड ३० लाख आम्दानी गरेको थियो । तर, सन २०२२ मा लेखापरिक्षण नहुदैको आम्दानी पनि ४९ करोड ३० लाख रुपैयाँमा सिमति भएको छ । गोल्छा समूहको संलग्नता रहेका कारण कम्पनीलाई बैंक कर्जा प्राप्त गर्न र वित्तीय पृष्ठभूमि राम्रो बनाउन सहयोग मिलेको छ ।

हुलास फिन सर्भ कम्पनीले बजाज ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे मोटर साइकल तथा स्कूटर र केटिएम डुक बाइकको फाइनान्सीङ गर्दै आएको छ । नेपालभर बजाज कम्पनीका १५० बढी डिलर सञ्चालनमा रहेका छन् । सबै डिलरका लागि मोटरसाइकल बिक्री गर्दा फाइनान्सीङ गर्नु परेको खण्डमा हुलास फिन सर्भ मार्फत नै हुन्छ ।

संस्थाको आम्दानीमा कमी आएता पनि कम्पनीको नेटवर्थ भने गत वर्षको तुलनामा बढेको छ । गत वर्ष १ अर्ब ४ करोड ८० लाख नेटवर्थ रहेको कम्पनीको सन् २०२२ मा १ अर्ब १८ करोड २० लाख पुगेको छ । कम्पनीको पोर्टफोलियो सन् २०२२ मा ३ अर्ब ६२ करोड २० लाखको छ भने एसेट ३ अर्ब ९४ करोड २० लाख रुपैयाँ बरावरको छ ।

संस्थाको कर्जा तथा इक्वीटी अनुपात २.०५ गुणा रहेको छ । सन् २०२२ सम्ममा संस्थाले व्यवस्थापन गरेको सम्पत्तिमा औसत प्रतिफल ३.३५ प्रतिशत छ । यो अवधिसम्म संस्थाको नेटवर्थको १.८८ प्रतिशत खुद खराब सम्पत्ति रहेको छ ।

संस्थाले ३ अर्ब २५ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्राबाट डबल बी प्लस र ए४ प्लस रेटिङ पाएको छ । २ अर्ब ७३ करोड बराबरको दीर्घकालीन कर्जाका लागि इक्राले डबल बी प्लस र ५२ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ दिएको छ ।

नेपालमा ८० वर्ष लामो व्यवसायिक इतिहास रहेको गोल्छा ग्रुपको हुलास फीन सर्भमा ८५ प्रतिशत सेयर रहेको छ । यसैगरी बाँकी १५ प्रतिशत हिस्सा हुलास अटोक्याफ्ट र हिम इलेक्ट्रोनिक्स प्रालिको रहेको छ । हुलास फिन सर्भका प्रबन्ध निर्देशक शेखर गोल्छा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।