निफ्राको ९१ करोड लाभांश अनुमोदन

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारण सभाले लगानीकर्तालाई ९१ करोड रुपैयाँ बराबरको लाभांश वितरणा गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ ।

शनिबार सम्पन्न भएको साधारण सभाले बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ ( लाभांस कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । साधारणसभाले गत आव २०७८–७९ को वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव तथा चालु आव २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी,सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको उपस्थिति रहेको थियो ।

सञ्चालनको चौँथो वर्षसम्म आइपुग्दा बैंकले आव २०७८/७९ सम्ममा ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा बैंकले १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ ।

निफ्राले मुलुकमा निर्माण हुने दीर्घकालीन पूर्वाधारमा सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवद्र्धन गर्ने विषयलाई मुख्य आधार मानी ४ वर्षे रणनीतिक योजना अनुरुप व्यावसायिक गतिविधि गरिरहेको जनाएको छ ।  स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ निफ्रा स्थापित भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।