सेञ्चुरी बैंकको आधारभुत सेयरधनी बाहेक अन्यको सेयर कारोबार फुकुवा

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चार महिनापछि सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आधारभूत सेयरधनी (संस्थापक सेयरधनी) बाहेकको सेयर कारोबार फुकुवा गरेको जनाएको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम बैंकको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

मंसिर ९ गते नेप्सेलाई पत्र पठाउँदै बैंकले आधारभुत बाहेक बाँकी सेयरधनीको सेयर कारोबार फुकुवा गर्न आग्रह गरेको थियो । सोही अनुसार नेप्सले मंसिर ११ गते निर्णय गर्दै बैंकको आधारभूत सेयरधनी बाहेकका अन्य सेयरधनीको सेयर कारोबार आजदेखि फुुकुवा गरेको जनाएको हो ।

सेञ्चुरी बैंक र प्रभु बैंकबीच गत साउन १५ गते साँझ एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौता भएसँगै सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का भएको थियो । सम्झौताको चार महिनापछि मंसिर १२ गते सोमबारदेखि बैंकको सेयर कारोबार हुने भएको हो ।

बैंकको सेयर आजदेखि नै फुकुवा भएसँगै भोलि सोमबारदेखि बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार सुचारु हुनेछ ।

दोस्रो बजारमा बैंकको सेयर अन्तिम पटक प्रतिकित्ता १९३ रुपैयाँमा कारोबार भएको थियो । प्रभु बैंकसँग प्राप्तीमा जाने सम्झौता गरेपछि नेप्सेले गत साउन १६ गतेदेखि सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

दुई बैंकबीच १ः१ सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम हुनेगरी प्रारम्भिक सम्झौता गरिएको छ । मर्जर पछि बैंकको नाम प्रभु बैंक र रहने र प्रभु बैंकका सीइओ अशोक शेरचन हुनेछन् भने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने रहने सहमति छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।