लघुवित्तले २० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने, बढी बाँड्दा ५० प्रतिशत जगेडामा राख्नुपर्ने 


लघुवित्त वित्तीय संस्थाले अब २० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यस अघिको व्यवस्थालाई संशोधन गर्दै लघुवित्तहरूले वितरण गर्न पाउने लाभांशको सीमा बढाएको हो । 

कोरोना महामारीमा केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गरेको थियो । सो व्यवस्थालाई केही खुकुलो गर्दै राष्ट्र बैंकले २० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको हो । त्यसैगरी लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा धेरै प्रस्ताव गरे प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने नयाँ व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यस अघि लघुवित्त वित्तीय संस्थाहरूले खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो । यसमा पनि  नगद लाभांश इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाको २०७८ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने नहुने व्यवस्था थियो । 

त्यसैगरी खुद वितरण योग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका लघुवित्त वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो । यसभन्दा अघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।