हुलास वायर उद्योगको आम्दानी खस्कियो, कर्जा रेटिङमा पनि गिरावट

0
Shares

शीर्ष व्यापारिक घराना गोल्छा ग्रुपको संलग्नता रहेको हुलास वायर उद्योगको आम्दानी गत वर्षको तुलनामा घटको छ ।

सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख (परिष्कृत) रहेको उद्योगको कुल सञ्चालन आम्दानी घटेर सन् २०२२ मा ३ अर्ब ८२ करोड ५० लाख (अपरिष्कृत) पुगेको छ । यस अघि सन् २०२० मा उद्योगको सञ्चालन आम्दानी ५ अर्ब ७ करोड ५० लाख रहेको थियो । सन् २०२० पछिको वर्षहरुमा उद्योगको सञ्चालन आम्दानी खस्किँदै गएको हो ।

आम्दानीमा कमी आउँदा डिप्रिसियसन, अर्मोटाइजेसन, भाँडा, ब्याज, कर अघिको नाफा पनि घटेको छ । सन् २०२१ मा कुल आम्दानीको ९.७ प्रतिशत रहेको उक्त नाफा सन्् २०२२ मा सञ्चालन आम्दानीको ६.१ प्रतिशत मात्रै रहेको छ ।

५ अर्ब २७ करोड ८६ लाख बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले क्रमश ए४ र डबल बी रेटिङ गरेको छ । उद्योगको सञ्चालन आम्दानीमा आएको कमी, चालु पुँजीमा बढ्दै गएको निर्भरता र कर्जा बढ्दै जानुले वित्तीय प्रोफाइल कमजोर देखाएको छ । जसकारण यस अघि गरेको रेटिङलाई पुनःपुष्टि गर्ने क्रममा इक्राले रेटिङ घटाएको छ ।

यस अघि ५ अर्ब २७ करोड ८६ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि इक्राले डबल बी प्लस र ए४ प्लस रेटिङ गरेको थियो । उद्योगको वित्तीय सूचांक कमजोर देखिदा इक्राले कर्जाको रेटिङ पनि घटाएको छ ।

विराटनगर नाकादेखि १६ किलोमिटर दूरीमा रहेको उद्योगलाई कच्चा पदार्थको ढ्वानीमा मदत पुगेको छ । उद्योगले स्टीलका एकाध सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । प्रति वर्ष ५५ हजार मेट्रिक टन ग्याल्भनाइज्ड वायर, ६० हजार मेट्रिक टन बराबरको टीएमटी बार, ३६ हजार मेट्रिक टन बराबरको ट्युब मिल्स, १८ हजार मेट्रिक टन बराबरको गेबिअन बक्स र १६ हजार ८५० मेट्रिक टन बराबरको एन्सीलरी सामाग्रीहरुको उत्पादन गर्नसक्ने क्षमता उद्योगको रहेको छ ।

सन् १९७९मा प्राइभेट कम्पनीका रुपमा स्थापना भएको हुलास वायर सन् २००६मा सार्वजनिक कम्पनीमा परिणत भएको हो । यस उद्योगमा गोल्छा परिवारका इसान गोल्छाको २९ प्रतिशत सेयर हिस्सा, राज्यलक्ष्मी गोल्छाको १७ प्रतिशत र बाँकी ५४ प्रतिशत सेयर हिस्सा अन्य २२ जनाको रहेको छ ।

नेपालको शीर्ष व्यापारिक घराना प्रमोटर रहनु र उद्योगको बजार पुँजीकरण राम्रो हुनु उद्योगका सबल पक्षहरु रहेका छन् । तर पछिल्लो समयमा नेपाल सरकारले आयातमा नियमन गर्दै जानु, अन्तराष्ट्रिय विनिमय बजारमा नेपाली रुपैयाँ कमजोर रहनु जस्ता चुनौतीहरु उद्योगले भोग्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।