शैक्षिक प्रणाली सुदृढीकरणका लागि एडिबीले २६ अर्ब बढी ऋण दिने

0
Shares

एशियन डेभलपमेन्ट बैंक (एडिबी) ले नेपालमा शिक्षाको पहुँच बढाउन र शैक्षिक प्रणालीलाई सुदुढ गर्नका लागि २० करोड डलर अर्थात करिब साढे २६ अर्ब ऋण सहुलियत दरमा उपलब्ध गराउने भएको छ ।

बैंकले नेपालका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरुमा अध्ययन, अध्यापन सुविधा विस्तार गर्ने काममा खर्च गर्ने गरी सो ऋण स्वीकृत गरेको हो । यस्तै कोभिड–१९का कारण अध्ययन तथा अध्यापन क्रियाकलापमा आएका समस्याहरुको समाधान गर्न पनि सहयोग रकम उपयोग गर्न सकने छ ।

नेपालले शिक्षा क्षेत्रको विकासमा एक खुड्किलो पार गरेता पनि समतामूलक शिक्षाको पहुँच वृद्धिमा अझै काम गर्न बाँकी रहेको छ । सहयोग ऋणले समतामूलक शिक्षाको पहुँच बढाउने र नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने एडिबीका सामाजिक विज्ञ प्रमुख रुडी भ्यान डेलले बताए ।

सहयोग परियोजना अन्तर्गत सूचीकृत भएका माध्यमिक स्कूलका छात्राहरुले ११ र १२ कक्षामा विज्ञान संकायको अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् । यसैगरी कोभिड–१९ महामारीबाट शिक्षा प्रणालीमा पुगेको हानीलाई न्यूनीकरण गर्न सामुदायिक तथा नागरिक समाजका संस्थाहरूसँग मिलेर शैक्षिक पुनरुत्थान र द्रुत सिकाइ कार्यक्रम सञ्चालन गर्ने एडिबीले जनाएको छ ।

विद्यालयहरूलाई भविष्यमा हुने सिकाइ अवरोधहरू विरुद्ध तयार पार्न सिकाई चौतारी अनलाइन लर्निङ पोर्टल मार्फत पहुँच योग्य शिक्षा विस्तार गर्ने दक्षिण एसियाका लागि एडीबीकी शिक्षा परियोजना अधिकृत स्मिता ज्ञवालीले बताइन् ।

एडिबीले ऋण सहयोगका साथै प्राविधिक सहायता विशेष कोषबाट थप १० लाख डलर प्राविधिक सहायता अनुदान उपलब्ध गराउने भएको छ । यसैगरी नर्वे सरकारले विद्यालयहरुको क्षमता अभिवृद्धि तथा व्यवस्थापनलाई सुदृढ गर्नका लागि ६ लाख डलर बराबरको सहयोग प्रदान गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।