युनिलिभरका प्रबन्ध सञ्चालक मुखर्जीले बुझे एक वर्षमै ८ करोड तलब भत्ता

0
Shares

नेपाली सेयर बजारकै महङ्गको कम्पनी युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध सञ्चालक अम्लान मुखर्जीले एक वर्षमा कम्पनीबाट तलब भत्ता वापत ८ करोड रुपैयाँ बुझेका छन् ।

कम्पनीका प्रबन्ध सञ्चालक मुखर्जीले गत आर्थिक वर्ष २०७८/७९ वर्षमा तलव भत्ता वापत मात्रै ७ करोड ७५ लाख ७४ हजार रुपैयाँ बुझेका हुन् । यो रकम बाहेक उनले कम्पनीबाट गाडी र बसोबास खर्च समेत लिएका छन् । उक्त दुई शीर्षकमा भएको खर्च कम्पनीले उपलब्ध गराएको भएपनि कति रकम उपलब्ध गराइयो भन्ने कम्पनीले पारदर्शी रुपमा देखाएको छैन ।

मुखर्जीले बुझेको रकम संस्थाका २२७ अन्य पदाधिकारीले बुझेको रकमको ३६.२४ प्रतिशत हो । कम्पनीमा अन्य २२७ पदाधिकारी तथा स्टाफले यो वर्षमा २१ करोड ४० लाख ५० हजार रुपैयाँ बुझेका छन् । यस्तै ७ जना सञ्चालकहरुले गत आवमा बैठक तथा भत्ता शीर्षकमा २ लाख १६ हजार रुपैयाँ बुझेका छन् ।

कम्पनीले प्रबन्ध सञ्चालक, आपूर्ति प्रबन्धक, वित्तीय प्रबन्धक, बिक्री प्रबन्धक र कानुन प्रबन्धकलाई चालक सहितको कार, इन्धन तथा मर्मत खर्च उपलब्ध गराउने गरेको छ । यस्तै विदेशी विशेषज्ञ प्रबन्धकहरुलाई सुसञ्जित फर्निचर सहितको भाडाको बसोबास घर वा कसो को वैकल्पिक व्यवस्था गरिएको छ । सञ्चालकहरुले बोर्ड बैडकमा उपस्थित हुँदा यातायात खर्च दिइएको छ ।

यस्तै गत आवमा कम्पनीले कर्मचारीको व्यवस्थापनमा ११ करोड ८६ लाख तथा प्रासनिक खर्चमा ३ करोड ८५ लाख खर्चिएको छ । लेखा समिति सदस्य सुभाष बज्राचार्य र रविभक्त श्रेष्ठलाई कम्पनीले वर्षभरीमा भत्ता वापत ८१ हजार र बैठकमा उपस्थित हुँदा यातायात खर्च समेत दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।