ग्लोबल आईएमई बैंककाे सीईओ बज्राचार्यको तलव तथा भत्ता ४९% बढ्यो

0
Shares

आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै कारोबार र नाफा आर्जन गरेको ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतको तलव तथा भत्ता ४८.८७ प्रतिशतले बढेको छ ।

सेयरधनीलाई कम लाभांश दिएको भन्दै बैंक आलोचित भैरहेको बेला प्रमुख कार्यकारी अधिकृतहरुको सेवाा सुविधामा भने उच्च वृद्धि देखिएको हो । बैंकले गत आवबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव भएकाे चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र १०.६० प्रतिशत नगद गरी १३.६० प्रतिशत लाभांश शुक्रबार सम्पन्न भएकाे १६ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको छ । 

आर्थिक वर्ष २०७८।७९ मा बैंकले प्रमुख कार्यकारी अधिकृतको तलव तथा भत्ता वापत १ करोड ९७ लाख १८ हजार ३३४ रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा बैंकले सीईओको तलव भत्तामा १ करोड ३२ लाख ४५ हजार रुपैयाँ खर्च गरेकोमा एक वर्षमा ६४ लाख ७३ हजार ३३४ रुपैयाँ धेरै खर्च गरेको हो ।

बैंकले प्रकाशित गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार बैंकले तलव तथा भत्ता बाहेक प्रमुख कार्यकारी अधिकृतलाई रोजगार पश्चात पाउने गरी सञ्चयकोषमा ७ लाख ५९ हजार ६०० रुपैयाँ तथा सञ्चालक शुल्क र खर्च शीर्षकमा ४९ लाख ३४ हजार ९१ रुपैयाँ खर्च गरेको छ ।

बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गरेको खर्च अघिल्लो आवको तुलनामा सञ्चयकोषमा ३.६० प्रतिशत बढेको छ भने सञ्चालकको शुल्क र खर्च शीर्षकमा भने ८.७३ प्रतिशत घटेको छ ।  अघिल्लो आवमा बैंकले सीईओले रोजगार पश्चात पाउने गरी सञ्चयकोषमा ७ लाख ३३ हजार २०० रुपैयाँ तथा सञ्चालकको शुल्क र खर्च शीर्षकमा ५४ लाख ६ हजार ६६ रुपैयाँ खर्च गरेको थियो ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहेका छन् ।

वार्षिक प्रतिवेदन अनुसार बज्राचार्यलाई सेवा सुविधा दिन बैंकबाट (तलवतथा भत्ता, सञ्चयकोष, र सञ्चालक शुल्क र खर्च) मार्फत १ वर्षमा कुल २ करोड ४४ लाख १२ हजार २५ रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई सेवा सुविधा दिन कुल १ करोड ९३ लाख ८४ हजार रुपैयाँ खर्च भएको थियो । एक वर्षमा सीईओको सुविधको समग्र खर्च ३१.१० प्रतिशतले वृद्धि भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।