निक्षेप आउन थालेपछि अन्तर बैंक दर ८ प्रतिशतमा, स्थायी तरलता सुविधा प्रयोगमा समेत कमी

0
Shares

बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक कारोबार दर नै ८ प्रतिशत भन्दा तल झरेको छ । बैंक/वित्तीय संस्थामा निक्षेप थपिन थालेपछि तरलताको अवस्थामा आएको सहजताले अन्तर बैंक दर घटेको हो ।

बैंक तथा वित्तीय संस्थाले एक आपसमा छोटो अवधिका लागि लिने सापटको ब्याजदर अन्तर बैंक दर हो । वित्तीय संस्थाहरुले दैनिक कारोबारको राफसाफ तथा नियामकीय मापदण्ड पुरा गर्नका लागि एक अर्कासंग यस्तो सापट लिन्छन । तरलता अभाव भएको अवस्थामा अन्तर बैंक कारोबारमा रकम दिने भन्दा पनि सापट माग्ने नै धेरै भएपछि स्थायी तरलता सुविधा दर बराबर नै अन्तर बैंक दर पुगेको थियो ।

एसएलएफ रेट अर्थात ८.५ प्रतिशतसम्म पनि अन्तर बैंक सापट नपाएपछि बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले प्रयोग गर्ने एसएलएफ पनि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबार बैंक वित्तीय संस्थाले ३४ करोड रुपैयाँ बरावरको मात्र एसएलएफ सुविधा प्रयोग गरेका छन् । अन्तर बैंक दर ८ देखि ७.३८ प्रतिशत सम्म झरेको छ भने एसएलएफ पनि घट्दो क्रममा देखिनु भनेको बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज भएको स्पष्ट हुन्छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेको छ । मंसिर महिनाको २२ गतेसम्ममा वाणिज्य बैंकहरुमा मात्रै ३० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । निर्वाचनामा भएको खर्चले बैंक वित्तीय संस्थाको निक्षेप बढेको हो । तर, कर्जा भने घटेको अवस्था छ ।

मंसिर महिनाको १३ गते पछि मात्र बैंक वित्तीय संस्थामा २१ अर्ब निक्षेप थपिएको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको कर्जा भने एक अर्बले घटेको छ । केन्द्रीय बैंकका अनुसार गत १३ गते बैंक वित्तीय संस्थाको कुल निक्षेप ५१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा मंसिर २२ गतेसम्ममा ५२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी मंसिर १३ गते ४७ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंक वित्तीय संस्थाको मंसिर २२ गतेको कुल कर्जा ४७ खर्ब ६० अर्बमा झरेको हो।

यसका साथै बैंकहरुले सरकारले आन्तरिक ऋणका लागि निष्कासन गरेको ट्रेजरी बिल्स खरिदमा समेत बैंकहरुले कम चासो दिएका छन। केही दिन अघि मात्र सरकारले निष्कासन गरेको ट्रेजरी बिल्सका लागि बैंकहरुले माग भन्दा पनि थोरैका लागि आवेदन दिएका थिए । त्यसमा पनि ब्याजदरका कारण नेपाल राष्ट्र बैंक आफैले खरिद गरेको थियो ।

बैंक वित्तीय संस्थामा तरलता समस्या सहज भएपनि कर्जा भने बढ्न सकेको छैन । उच्च ब्याजदरका कारण कर्जाको माग नभएको बैंकरहरु बताउँछन । बैंकहरुले तरलता सहज अवस्थामा आएको भएपनि निक्षेपको ब्याजदर घटाएका छैनन । त्यसले गर्दा पनि कर्जाको ब्याजदर घट्न नसकेको हो । कर्जाको ब्याज नघटेको हुनाले नयाँ कर्जा भन्दा पुरानो कर्जा समेत चुक्ता गर्ने ऋणीहरु बढेका छन् । बैंकहरुले भने तरलता अवस्था सहज भएको भएपनि आगामी पुस देखि स्थानीय सरकारको पैसालाइ ८० प्रतिशतसम्म निक्षेप गणना गर्न पाइने वयवस्था परिवर्तन हुन सक्ने भएकाले पनि कर्जा निक्षेप अनुपातको सीमा कायम गर्नमा बढी ध्यान दिएको देखिन्छ ।

सरकारी टे«जरी बिल्सका लागि माग गरेजति आवेदन नआउने, अन्तर बैंक दर र एसएलएफको प्रयोग घट्दै जानुले तरलता र कर्जा लगानी योग्य रकम अभावको समस्या सहज भएको स्पष्ट हुन्छ । तरपनि बैंकहरुले ब्याजदर नघटाएपछि कर्जा प्रबाह प्रभावित भएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।