बीमा दाबी भुक्तानी प्रदेश तथा शाखा कार्यालयबाट गर्ने व्यवस्था गर्न प्राधिकरणको निर्देशन

0
Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी समेत प्रदेश तथा शाखा कार्यालयबाट नै गर्ने व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन।

सोमबार बीरगञ्जमा आयोजित बीमा सम्बन्धी समसामयिक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूलाई प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न, कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न समेत निर्देशन दिए।

कार्यक्रममा अध्यक्ष सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरू बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने उल्लेख गर्दै ऐनले नेपाल बीमा प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेकाले अब बीमा सम्बन्धी सबै विषयमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्ने बताए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट बीमकको अनुगमन, निरीक्षण तथा नियमनका साथै प्राधिकरणबाट हुने अधिकाङ्श कार्य हुने भएकाले काम छिटोछरितो हुनुका साथै सेवाग्राहीको समय समेत बचत हुने उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरूले निर्जीवन बीमा अन्तर्गत बालबालिकाको बीमामा समस्या देखिएकाले जीवन बीमालेख निर्देशिका, २०७८ संशोधन गर्नुपर्ने, बैंकहरूले मुद्दती खातामा लगानी गरेपछि मात्र बीमा व्यवसाय बीमकलाई दिने परिपाटीले गर्दा बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको बताएका थिए ।

त्यस्तै बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकार प्रत्यायोजन नभएको, बीमा अभिकर्ताहरूका लागि तालिमको व्यवस्था नभएको, सरकारी निकायहरूले बीमा प्रयोजनका लागि कागजात दिन आनाकानी गर्ने गरेको, कृषि बीमाको सिफारिश लिँदा झण्झट व्यहोर्नु परेको लगायतका विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुङ्गेल (अधिकारी) तथा प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।