नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा संलग्न व्यक्ति/समुह/संस्थालाई कानूनी कारबाही गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै त्यस्ता क्रियाकलापमा सहभागि हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार समेत रोक्का राख्ने भएको हो ।
वर्ल्ड कप फुटबल २०२२ चलिरहेको हुनाले धेरै व्यक्ति, समुह तथा संस्थाले विद्युतीय भूक्तानी मार्फत जुवा वा बाजी खोलाउने र भुक्तानी गर्ने गरेका छन् । उक्त गैर कानुनी क्रियाकलापलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले मंगलबार सूचना जारी गर्दे आम सर्वसाधारणलाई सूचित गराएको हो । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले समेत सामाजिक सञ्जालको प्रयोग गरी यस्ता कार्यहरु गराउँदै आएका छन् ।
राष्ट्र बैंकले जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी रहेको समेत स्पष्ट पारेको छ । यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणलाई केन्द्रीय बैंकले अनुरोध गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ । त्यसका साथै कसैले विद्युतीय भुक्तानीका माध्यमबाट जुवा तथा बाजीजन्य कार्य गरेको जानकारी प्राप्त भएमा केन्द्रीय बैंकलाइ जानकारी दिन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया