प्राधिकरणले आईएसपीहरुको गुणस्तर र स्पीडको अनुगमन गर्ने

0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले सेवाग्राहीलाई प्रदान गर्दै आएको इन्टरनेट सेवाको गुणस्तर र स्पीडको अनुगमन गर्ने भएको छ । अनुगमनका लागि प्राधिकरणले सातै वटा प्रदेशका मुख्य शहरहरुमा आईएसपीहरुको सेवाको गुणस्तर र स्पीड जाँच गर्नका लागि परामर्शदाताहरुसँग आसय पत्र माग गरेको छ ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै सेवा प्रदायकहरुले कस्तो सेवा प्रदान गरिरहेका छन् भन्ने अध्ययन गर्नका लागि प्राधिकरणले परामर्शदाता खोजेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत मंसिर २० गते सात प्रदेशको ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर र स्पीड जाँच गर्न परामर्शदाताहरुसँग आशय पत्र माग गरेको हो ।

ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर र स्पीड जाँच गर्न इच्छुक राष्ट्रिय परामर्शताले पुस ६ गते भित्र आवेदन पेश गर्नु पर्नेछ । परामर्शदाताले संयुक्त उपक्रम (जेभी) वा एकल रुपमा आवेदन दिन सक्नेछन् । प्रक्रिया पुरा गरी आएका व्यक्ति वा संस्थासँग प्राधिकरणले पुस १७ गते सम्झौता गर्ने लक्ष्य लिएको छ ।

प्राधिकरणले अनुगमनका लागी तीन ओटा प्याकेजमा आशय पत्र माग गरेको छ । प्याकेज १ मा मधेस प्रदेश, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश र प्याकेज ३ मा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश रहेका छन् ।

सम्झौता अनुसार परामर्शदाताले नेपालका विभिन्न स्थानबाट सेवा प्रदान गरिरहेका इन्टरनेट सेवा प्रदायको गुणस्तर तथा सेवाको मूल्यांकन, मापन र विश्लेषण गर्नुपर्नेछ । परामर्शदाताले उपभोक्ता सर्वेक्षण गर्ने र गुणस्तरका सम्बन्धमा ग्राहकको धारणा पनि विश्लेषण गर्नु पर्नेछ ।

गत साता मात्रै प्राधिकरणले आफखुशी इन्टरनेटको सेवा शुल्क तोकेको भन्दै इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरणको लागि बोलाएको थियो । सेवा प्रदायकले प्राधिकरणसँग अनुमति नलिईकन नै आफना वेवसाइटमा इन्टरनेटको प्याकेज र शुल्क तोकेपछि प्राधिकरणको ध्यानकर्षण भएको थियो । प्राधिकरणले त्यस्ता सेवा प्रदायकलाई पत्रचार गरी स्पष्टीकरण माग गरेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।